फिलिपिन्समा ७.८ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी


बीबीसी । दक्षिणी फिलिपिन्समा सोमबार बिहानै गएको शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएका छन् । फिलिपिन्ससँगै इन्डोनेसिया र जापानसहित यो क्षेत्रका कैयौँ देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्। मुख्य भूकम्पपछि कम्तीमा १६ वटा परकम्प मापन भएका छन्।

फिलिपिन्स इन्स्टिट्यूट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीले भूकम्प ७.८ म्याग्निच्यूटको रहेको बताएको छ। भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटर गहिराइमा रहेको उक्त निकायले जनाएको छ।

तर जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजले भूकम्प ७.८ म्याग्निट्यूटको रहेको र जमिनभन्दा ५० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले ७.८ म्याग्निट्यूट मापन गरेको छ र ३५ किलोमिटर गहिराइमा गएको उल्लेख गरेको छ।

फिलिपिन्सका राष्ट्रपतिले ‘सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न’ निर्देशन दिएका छन्। उनले सुनामीबाट बच्न अग्लो स्थानतर्फ सर्न मानिसहरूलाई आग्रह गरेका छन्।

भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस सहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ।