पूर्वराजदूत आचार्यको टिप्पणीः भारत भ्रमणमा विषय उठान गर्न नेपाली पक्ष हच्केको देखियो


काठमाडौँ । एकजना पूर्वराजदूतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा उठानुपर्ने कुरा नउठाएको टिप्पणी गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत पूर्वराजदूत निलाम्बर आचार्यले रास्वपा सभापति लामछिाने र परराष्ट्रमन्त्री खनालको भ्रमण हुनु सकारात्मक भएपनि उठाउनुपने विषय उठाउन नसकेको बताएका हुन् । उनले लेखेका छन्, ‘हालै नेपालबाट दुई महत्वपूर्ण भ्रमण भारतमा भएका छन् । भ्रमण हुनु राम्रो हो । स्वागत सत्कार पनि सकारात्मक छ। तर नेपालले उठाउदै गरेका र उठाउनै पर्ने कुरा उठाइएनन् । जनमानस चिन्तित रहेका र सांसद पनि उद्वेलित रहेका विषयमा समेत बोल्न हच्केको देखियो । मित्रहरूबीच यस्तो हचक राम्रो होइन।’

रास्वपा सभापति लामिछाने गत साता भारत भ्रमणका गएका थिए । भ्रमणका क्रममा उनले भारतीय जनता पार्टीका अध्यक्ष, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेट गरेका थिए ।

त्यस्तै शुक्रबार भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री खनालले समकक्षी एस. जयशंकरलगायतका भारतीय नेताहरुसँग भेट गरेका थिए । उनीहरुले दुई देशबीचको सीमा समस्याको समाधान कूटनीतिक तबरले समाधान गर्ने भने पनि नेपालले निरन्तर उठाउँदै आएका लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायतका विषयमा कुनै चर्चा नगरेपछि पूर्वराजदूत आचार्यको यस्तो भनाई आएको हो ।