सेन्ट पिटर्सबर्ग । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’ भनेर प्रशंसा गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतको स्वतन्त्र विदेश नीतिको खुलेर समर्थन गरेका छन् । उनले संयुक्त राज्य अमेरिकाले रुससँगको सहकार्यका विषयमा भारतमाथि दबाब दिने प्रयासलाई कटाक्ष गर्दै यस्ता कदमहरू अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुने चेतावनी दिएका हुन् ।
सेन्ट पिटर्सबर्ग इकोनोमिक फोरममा सञ्चारमाध्यमलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार सबै देशसँग सम्बन्ध विस्तार गरिरहेकोमा रूस सन्तुष्ट रहेको बताए । उनले भारतलाई ‘महान देश’ भन्दै यसको कूटनीतिक स्वतन्त्रतालाई स्वाभाविक प्रक्रिया भएको टिप्पणी गरे ।
उनले भने, “भारतले आवश्यक ठानेका देशहरूसँग आफ्ना हितअनुसार अर्थतन्त्र विकास गर्नु स्वाभाविक हो ।” साथै उनले भारत विश्वका अग्रणी अर्थतन्त्रमध्ये एक भएको उल्लेख गर्दै उच्च आर्थिक वृद्धिदर प्रधानमन्त्री मोदी नेतृत्वको नीतिगत प्रयासको परिणाम भएको दाबी गरे ।
अमेरिकाले रुससँगको सहकार्यका कारण भारतमाथि दबाब सिर्जना गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै पुटिनले यस्तो दबाब अस्वीकार्य रहेको टिप्पणी गरे । उनले भने, “नरेन्द्र मोदीमाथि दबाब दिनु अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुन्छ, दबाब जहाँबाट आए पनि त्यसको असर नकारात्मक हुन्छ ।”
रूस–भारत सम्बन्धबारे बोल्दै उनले दुवै देशबीचको विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी दशकौँदेखि विकसित हुँदै आएको बताए । सन् १९४७ मा सोभियत सङ्घले भारतीय स्वतन्त्रता पछि कूटनीतिक सम्बन्ध स्थापना गरेको स्मरण गर्दै उनले दुई देशबीचको सहकार्य ऐतिहासिक र दीर्घकालीन रहेको उल्लेख गरे ।
उनले भारतको विकास यात्रामा भारतीय जनताको परिश्रम र प्रतिभाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । साथै रूस र भारतबीचको सम्बन्ध नयाँ नभई दशकौँको निरन्तर सहकार्य र विश्वासमा आधारित रहेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया