कुरीकुरीको कुरा


-डा. गोविन्दशरण उपाध्याय

हामी तराई घुम्न गएका थियौं। एउटा साथीको घरमा पाहुना बन्यौं। घरमा चार वर्षजतिको छुकछुके बालक थियो। आमा उसलाई कट्टु लगाइदिन चाहन्थिन्। ऊ मानिरहेको थिएन। आमाले सम्झाइन्, ‘लाज हुन्छ नि, कुरीकुरी देखाउँदा।’ बालक एकछिन रोकियो। उसले कट्टु लगायो, तर तुरुन्त सोध्यो, ‘आमा, कट्टु नलगाए किन लाज हुन्छ? यो मुख देखाउँदा, यो हात देखाउँदा, यी खुट्टा देखाउँदा किन कुरीकुरी हुँदैन?’

आमासँग तत्काल जवाफ थिएन। मैले र मेरी श्रीमतीले त्यो प्रश्न सुनिरहेका थियौं। श्रीमतीले मेरो मुखतिर हेरेर मुसुक्क हाँसिन्। घरबेटी पनि लजालु अनुहारले मुस्काइन्। बाहिरबाट हेर्दा कुरा त्यहीँ सकियो। तर साँचो कुरा के हो भने त्यो बालकको प्रश्नले मेरो मनमा एउटा गहिरो ढुंगा फालेको थियो। त्यो ढुंगाले उत्पन्न गरेको तरङ्ग आज पनि मनको पानीमा चलिरहेको छ।

बालकले सोधेको प्रश्न सरल थियो, तर सभ्यताको इतिहासजत्तिकै गहिरो थियो। मान्छेका शरीरमा अनेकौँ अंग छन्। आँखा हेर्नका लागि, कान सुन्नका लागि, मुख खान र बोल्नका लागि, हात काम गर्नका लागि, खुट्टा हिँड्नका लागि। त्यसैगरी पुरुष र स्त्रीका यौनांग पनि शरीरकै अंग हुन्। तिनको जैविक काम पिसाब फेर्नु, प्रजननसँग सम्बन्धित हुनु र जीवन–चक्रलाई निरन्तरता दिनु हो। शिश्न होस् वा योनी-ती कुनै दानवीय वस्तु होइनन्, कुनै पापको जरा होइनन्, कुनै अपवित्र पदार्थ पनि होइनन्। तिनीहरू त शरीरको जैविक सत्य हुन्।

त्यसो भए प्रश्न उठ्छ-यी अंगहरूलाई गोप्य किन भनियो? किन बालबालिकालाई ‘कुरीकुरी देखाउनु हुँदैन’ भनिन्छ? किन मुख देखाउँदा सामान्य मानिन्छ, तर यौनांग देखाउँदा लाज, अपराधबोध वा डर उत्पन्न हुन्छ? यो प्रश्न अराजकता माग्ने प्रश्न होइन। यो नग्नता प्रदर्शनको पक्षमा गरिएको वकालत पनि होइन। यो त केवल एउटा दार्शनिक प्रश्न हो-लाजको जन्म कहाँबाट भयो? शरीरको एउटा अंग सामान्य र अर्को अंग लुकाउनुपर्ने कसरी भयो ?

मानिसले कपडा लगाउन थालेको इतिहास अत्यन्त पुरानो छ। प्रत्यक्ष प्रमाण धेरै भेटिँदैन, किनकि छाला, पात, घाँस वा कपडा हजारौं वर्ष टिक्दैनन्। तर वैज्ञानिकहरूले कपडामा बस्ने जुँगाको विकासक्रम अध्ययन गरेर मानवले कपडा प्रयोग गर्न थालेको समय अनुमान गरेका छन्। एक प्रसिद्ध अध्ययनका अनुसार आधुनिक मानिसले करिब १ लाख ७० हजार वर्षअघि कपडा प्रयोग गर्न थालेको हुनसक्छ । यसले मानिसलाई अफ्रिकाबाट चिसा क्षेत्रतिर बसाइँ सर्न पनि सहयोग गर्यो।

तर सुरुदेखि नै कपडा “लाज छोप्न” मात्र बनेको थिएन। सम्भवतः कपडाको पहिलो कारण चिसो, घाम, धुलो, काँडा, कीरा, घाउ, यात्रा र श्रमसँग सम्बन्धित थियो। केही मानवशास्त्रीहरूका अनुसार पहिरनको उत्पत्तिबारे तीन प्रमुख कारण चर्चित छन्-संरक्षण, सजावट र विनम्रता वा लाज। पछिल्ला समाजहरूमा यी तीनै कुरा मिसिएर कपडा केवल शरीर ढाक्ने वस्तु नभई पहिचान, जाति, धर्म, वर्ग, मर्यादा, सौन्दर्य र नैतिकताको संकेत बन्न पुग्यो।

मानव सभ्यताको आरम्भिक अवस्थालाई हेर्दा सबै समाजमा नग्नता एउटै अर्थमा बुझिँदैनथ्यो। उष्ण प्रदेशका शिकारी–संग्राहक समाजमा न्यून वस्त्र वा अर्धनग्नता सामान्य थियो। धेरै आदिवासी समाजमा शरीर ढाक्नु भन्दा शरीर सजाउनु बढी महत्त्वपूर्ण हुन्थ्यो-रङ लगाउनु, माला लगाउनु, टाटु बनाउनु, प्वाँख वा हड्डी सजाउनु, शरीरमा जातीय वा धार्मिक चिन्ह बनाउनु। यसको अर्थ शरीरप्रति घृणा थिएन ।शरीर त पहिचानको क्यानभास थियो। मानव इतिहासमा नाङ्गोपन कहिले सामान्य, कहिले पवित्र, कहिले कलात्मक, कहिले गरिबीको चिन्ह, कहिले विद्रोह र कहिले लाजको विषय बन्यो।

यहीँबाट एउटा ठूलो कुरा बुझ्नुपर्छ-लाज प्राकृतिक मात्र होइन, सांस्कृतिक पनि हो। भोक प्राकृतिक हो, तर कसरी खाने भन्ने संस्कृति हो। निद्रा प्राकृतिक हो, तर कहाँ सुत्ने भन्ने संस्कृति हो। यौन–प्रवृत्ति प्राकृतिक हो, तर त्यसलाई कसरी, कहिले, कहाँ र कसका अगाडि व्यक्त गर्ने भन्ने कुरा संस्कृति, धर्म, परिवार र समाजले नियमन गर्छ। त्यसैले ‘कुरीकुरी’प्रतिको लाज शरीरबाट जन्मिएको होइन अपितु शरीरलाई अर्थ दिने सामाजिक व्यवस्थाबाट जन्मिएको हो।

बालकलाई आफ्नो शरीरप्रति प्रारम्भमा लाज हुँदैन। ऊ शरीरलाई शरीरकै रूपमा बुझ्छ। मुख, पेट, हात, खुट्टा, नितम्ब, यौनांग-सबै उसका लागि आफ्नै शरीरका भाग हुन्। लाज उसले जन्मजात लिएर आएको हुँदैन; लाज सिकाइन्छ। जब आमा भन्छिन् त्यो नदेखाऊ, जब बाबु भन्छन् छोप, जब दिदी हाँस्छिन्, जब समाज आँखा घुमाउँछ, जब धर्मशास्त्र ‘मर्यादा’ भन्छ, जब विद्यालय ‘सभ्यता’ सिकाउँछ-त्यसपछि बालकको मनमा शरीरका केही भागहरू विशेष, गोप्य र सार्वजनिक दृष्टिबाट अलग राख्नुपर्ने भन्ने संस्कार बन्छ।

यसको अर्थ लाज खराब हो भन्ने होइन। लाजका दुई रूप छन्-एक, स्वस्थ मर्यादा दुई, रोगी अपराधबोध। स्वस्थ मर्यादाले मानिसलाई सभ्य बनाउँछ, अरूको सीमा सम्मान गर्न सिकाउँछ, सार्वजनिक र निजी जीवनको भेद बुझाउँछ। तर रोगी अपराधबोधले शरीरप्रति घृणा जन्माउँछ, यौनांगलाई पापसँग जोड्छ, बालबालिकालाई आफ्नै शरीरबारे बोल्न नसक्ने बनाउँछ, यौन हिंसा, दमन र भ्रमलाई बढावा दिन्छ। हाम्रो समाजको समस्या लाज होइन । लाजको अशिक्षित प्रयोग हो।

यौनांग किन लुकाइयो भन्ने प्रश्नको एउटा उत्तर प्रजननसँग सम्बन्धित छ। मुखले खाना खान्छ, तर मुखबाट सन्तान जन्मिँदैन। हातले काम गर्छ, तर हात प्रजनन–संकेत होइन। यौनांग जैविक रूपमा प्रजनन, यौन आकर्षण र वंश–निरन्तरतासँग जोडिएको हुँदा समाजले त्यसलाई विशेष निगरानीमा राख्यो। विवाह, वंश, सम्पत्ति, उत्तराधिकार, परिवार र सन्तानको वैधता स्थापित भएपछि यौन सम्बन्ध व्यक्तिगत मात्र रहेन; त्यो सामाजिक संस्था बन्यो। कसको सन्तान? कसको वंश? कसको सम्पत्ति? कसको अधिकार? यी प्रश्नहरूले शरीरलाई सामाजिक नियन्त्रणको विषय बनाए। यहींबाट यौनांगको सार्वजनिक प्रदर्शनलाई केवल जैविक घटना होइन, सामाजिक जोखिमको रूपमा हेर्न थालियो।

अर्को कारण सुरक्षा पनि हो। मानव समाजमा यौन आकर्षण केवल प्रेम र प्रजननसँग मात्र जोडिएन; हिंसा, बल, स्वामित्व, ईष्र्या र शोषणसँग पनि जोडियो। त्यसैले समाजले केही अंगलाई निजी क्षेत्रभित्र राखेर व्यक्तिको सुरक्षा, विशेषगरी स्त्रीको सुरक्षा र परिवारको मर्यादा कायम गर्ने प्रयास ग¥यो। तर इतिहासमा यो व्यवस्था सधैँ न्यायपूर्ण रहेन। धेरै समाजमा लाज स्त्रीका शरीरमा बढी लादियो, पुरुषलाई छुट दिइयो। स्त्रीको वस्त्र, चालचलन, आवाज, हाँसो, दृष्टि, छाती, कपाल, पाइलासम्मलाई मर्यादाको विषय बनाइयो। यसले ‘लाज’लाई सद्गुणभन्दा बढी सामाजिक नियन्त्रणको औजार बनायो।

भारतीय परम्परामा ‘लज्जा’ शब्दको अर्थ केवल डर वा अपराधबोध होइन। संस्कृतमा ‘लज्जा’ले shame, modesty, bashfulness अर्थात् संकोच, मर्यादा र शीलको अर्थ बोक्छ। अमरकोश आदि कोशहरूमा लज्जाका पर्यायका रूपमा ह्री, त्रपा, व्रीडा आदि शब्दहरू पाइन्छन्। भारतीय मनोविज्ञानको दृष्टिले लज्जालाई केवल नारीको बोझ होइन, सज्जनता, आत्मसंयम र सामाजिक संवेदनशीलताको गुणका रूपमा पनि व्याख्या गरिएको छ।

तर भारतीय सभ्यता शरीरद्वेषी मात्र थिएन। कामलाई पुरुषार्थमध्ये एक मानियो-धर्म, अर्थ, काम र मोक्ष। कामसूत्रको परम्परा, नाट्यशास्त्रको शृंगार–रस, खजुराहोका मूर्तिहरू, कोणार्कका कलात्मक संकेतहरू, मन्दिरका मिथुन मूर्तिहरू-यी सबैले देखाउँछन् कि भारतीय दृष्टिमा शरीर र कामलाई सधैँ पापको रूपमा मात्र हेरिएको थिएन। खजुराहोका मन्दिरहरूमा धार्मिक, सामाजिक, सांगीतिक, नृत्यात्मक र दाम्पत्य जीवनका विविध दृश्यहरू कुँदिएका छन्, युनेस्कोले पनि खजुराहोका मूर्तिहरूलाई पवित्र र लौकिक जीवनका विविध विषयहरूको कलात्मक एकीकरणका रूपमा वर्णन गर्छ।

यसबाट के बुझिन्छ भने भारतीय सभ्यतामा ‘लाज’ र ‘काम’ बीच द्वन्द्व मात्र थिएन, सन्तुलनको प्रयास थियो। काम अस्वीकार गरिएको थिएन, तर अनियन्त्रित कामलाई खतरनाक ठानिएको थियो। लज्जा शरीर घृणाको भाषा होइन, संयमको भाषा हुनुपथ्र्यो। तर जब संयम दमनमा बदलियो, लज्जा ज्ञान होइन, डर बन्यो।

ग्रीक सभ्यतामा पनि नाङ्गोपनको अर्थ आजको जस्तो थिएन। प्राचीन ग्रीसमा खेलकुद, मूर्तिकला र सौन्दर्यबोधमा पुरुष शरीरको नग्न प्रस्तुति वीरता, अनुपात, शक्ति र उत्कृष्टताको चिन्ह मानिन्थ्यो। मेट्रोपोलिटन म्युजियमका अनुसार प्राचीन ग्रीक धार्मिक खेलकुदमा खेलाडीहरू नग्न प्रतिस्पर्धा गर्थे, र कलामा नग्न शरीरलाई मानव उत्कृष्टताको प्रतीक मानिन्थ्यो।

तर यसको अर्थ ग्रीक समाज पूर्ण रूपमा ‘नग्नतामुक्त’ थियो भन्ने होइन। त्यहाँ पनि सन्दर्भ महत्त्वपूर्ण थियो। व्यायामशाला, कला र देवालयमा नाङ्गोपन एउटा अर्थ बोक्थ्यो; घर, बजार वा स्त्री–पुरुष सम्बन्धमा अर्को अर्थ। त्यसैले नाङ्गोपनको अर्थ शरीरले होइन, सन्दर्भले निर्धारण गर्छ।

यहूदी–क्रिश्चियन परम्परामा आदम र हव्वाको कथा नग्नता र लाजको एउटा प्रभावशाली प्रतीक हो। उत्पत्तिको कथामा सुरुमा उनीहरू नग्न थिए तर लज्जित थिएनन् । ज्ञानको फल खाएपछि उनीहरूले आफू नग्न भएको थाहा पाए र अञ्जीरका पातले शरीर ढाक्न थाले भन्ने कथन पश्चिमी नैतिक इतिहासमा धेरै प्रभावशाली बन्यो। यो कथा केवल धार्मिक होइन, मनोवैज्ञानिक पनि छ-ज्ञान आएपछि आत्मचेतना आयो, आत्मचेतनासँग तुलना आयो, तुलना सँगै लाज आयो।

मान्छे अरू प्राणीभन्दा फरक किन भयो? कुकुर, गाई, चरा, बाँदर, हात्ती आफ्ना अंग लुकाउँदैनन्। उनीहरूलाई ‘कुरीकुरी’ भन्ने शब्द छैन। यसको एउटा कारण हो—मान्छेमा आत्मचेतना तीव्र छ। ऊ आफूलाई अरूको आँखाबाट हेर्न सक्छ। म कस्तो देखिएँ? अरूले के सोच्लान्? मेरो शरीरले के संकेत गरिरहेको छ? म सम्मानित छु कि अपमानित? यही आत्मदर्शनबाट लाज जन्मिन्छ। लाज भनेको अरूको सम्भावित दृष्टिको आन्तरिक आवाज हो।

बालकलाई लाज कम हुन्छ किनकि ऊ अझै सामाजिक दृष्टिको पूरा कैदी भएको हुँदैन। किशोरावस्थामा शरीर परिवर्तन हुन थालेपछि लाज बढ्छ, किनकि शरीर अब केवल जैविक अंग रहँदैन । आकर्षण, तुलना, पहिचान, लैंगिकता र सामाजिक मूल्यांकनको केन्द्र बन्न थाल्छ। यही समयदेखि ‘कुरीकुरी’ शब्दको अर्थ पनि बदलिन्छ। सानो बालकका लागि त्यो केवल अंग हो । किशोरका लागि गोपनीयता । वयस्कका लागि यौनता, मर्यादा, सम्बन्ध र जिम्मेवारी।

तर हाम्रो समाजमा समस्या के छ भने हामी बालबालिकालाई शरीरबारे सही भाषा सिकाउँदैनौं। ‘कुरीकुरी’ भनेर हाँस्छौं, डराउँछौं, लुकाउँछौं, तर शरीरको सही नाम, कार्य, सुरक्षा र मर्यादा सिकाउँदैनौं। परिणाम के हुन्छ? बालक शरीरबारे जिज्ञासु हुन्छ, तर प्रश्न गर्न डराउँछ। बालिका असहजता अनुभव गर्छे, तर भन्न सक्दिन। किशोर यौन जिज्ञासा राख्छ, तर सही ज्ञान नपाएर गलत स्रोततिर जान्छ। समाजले ‘लाज’ सिकाउँछ, तर ‘सीमा’, ‘सहमति’, ‘सुरक्षा’ र ‘स्वास्थ्य’ सिकाउँदैन।

मेरो विचारमा बालबालिकालाई भन्नुपर्ने वाक्य यस्तो हुनुपर्छ-‘यो शरीरको निजी अंग हो। यो खराब होइन, तर सबैका अगाडि देखाउने अंग होइन। जसरी तिम्रो दाँत माझ्ने काम निजी हुन सक्छ, नुहाउने काम निजी हुन सक्छ, दिसा–पिसाब गर्ने काम निजी हुन सक्छ, त्यसैगरी यी अंगहरू पनि निजी हुन्। कसैले तिम्रा निजी अंग छुन खोजे भने तुरुन्त ‘हुँदैन’ भन्नु र विश्वासिलो ठूलो मान्छेलाई बताउनु।’ यस्तो शिक्षा लाज होइन, सुरक्षा हो। यस्तो भाषा दमन होइन, मर्यादा हो।

‘कुरीकुरी’लाई पाप बनाउनु हुँदैन, तर सार्वजनिक प्रदर्शनको विषय पनि बनाउनु हुँदैन। शरीरप्रति सम्मान र सामाजिक मर्यादाबीचको सन्तुलन आवश्यक छ। शरीरको अंगलाई घृणा गर्दा आत्मसम्मान घट्छ। शरीरको सीमा नबुझ्दा सामाजिक असभ्यता बढ्छ। स्वस्थ दृष्टि बीचमा छ-न अन्धा लज्जा, न अराजक प्रदर्शन।

हामीले बुझ्नुपर्ने कुरा के हो भने लाजको विकास एकै दिन भएको होइन। यो जलवायु, कपडा, श्रम, सुरक्षा, प्रजनन, सम्पत्ति, परिवार, धर्म, कला, राज्य, नैतिकता र आत्मचेतनाको लामो इतिहासबाट बनेको भाव हो। पहिले कपडा चिसो र सुरक्षाका लागि आयो होला तरपछि सजावट र पहिचानका लागि प्रयोग भयो अपितु अझ पछि निजी र सार्वजनिक अंगको भेदसँग जोडियो । अन्ततः नैतिकता, मर्यादा र लाजको प्रतीक बन्यो। त्यसैले ‘कुरीकुरी’को इतिहास केवल यौनांगको इतिहास होइन । यो मानव सभ्यताको आत्मचेतनाको इतिहास हो।

चार वर्षे बालकको प्रश्न आज पनि त्यत्तिकै महत्त्वपूर्ण छ-‘मुख देखाउँदा लाज हुँदैन, कुरीकुरी देखाउँदा किन हुन्छ?’ यसको उत्तर सरल भाषामा यस्तो दिन सकिन्छ—’किनकि समाजले केही अंगलाई निजी मानेको छ। निजी भन्नुको अर्थ खराब होइन; निजी भन्नुको अर्थ सुरक्षित, मर्यादित र आफ्नै अधिकारभित्र राखिएको हो।’

तर दार्शनिक उत्तर अझ गहिरो छ-मान्छे केवल शरीर होइन, शरीरबारे सोच्ने चेतना पनि हो। यौनांग केवल जैविक अंग होइन, जीवन–उत्पत्तिको रहस्यसँग जोडिएको अंग हो। जीवन जहाँबाट निरन्तर हुन्छ, समाजले त्यहाँ नियम बनाउँछ। नियम जहाँ बनाइन्छ, त्यहाँ मर्यादा जन्मिन्छ। मर्यादा जहाँ जन्मिन्छ, त्यहाँ लाज आउँछ। तर लाज ज्ञानसहित आयो भने शील हुन्छ, अज्ञानसहित आयो भने दमन हुन्छ।

त्यसैले ‘कुरीकुरी’को कुरा हाँसेर टार्ने कुरा होइन। यो बालमनोविज्ञानको कुरा हो, शरीरशास्त्रको कुरा हो, संस्कृतिको कुरा हो, धर्म र दर्शनको कुरा हो, र सबैभन्दा बढी-मानवीय मर्यादाको कुरा हो। हामीले बालबालिकालाई शरीरप्रति घृणा होइन, सम्मान सिकाउनुपर्छ; यौनांगप्रति डर होइन, सही ज्ञान दिनुपर्छ; लाज होइन, स्वस्थ गोपनीयता सिकाउनुपर्छ।

अन्ततः शरीर ईश्वर वा प्रकृतिको अद्भुत व्यवस्था हो। कुनै अंग अशुद्ध छैन तर दुरुपयोग अशुद्ध हुन सक्छ। कुनै अंग पाप होइन अज्ञान पापको कारण हुन सक्छ। ‘कुरीकुरी’ शरीरको अंग हो, तर ‘कुरीकुरी’ भन्ने हाम्रो भाषा, हाम्रो हाँसो, हाम्रो लाज र हाम्रो मौनता-यी सबै सभ्यताका दर्पण हुन्। बालकले सोधेको प्रश्नले हामीलाई सम्झाउँछ-साँचो शिक्षा त्यही हो, जसले शरीरलाई लुकाएर होइन, बुझाएर मर्यादित बनाउँछ।