कांग्रेसको केन्द्रीय अनुशासन समितिले गरायो तीन नेतालाई सचेत, एकलाई निलम्बन र एक जनालाई सफाइ


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले मधेस प्रदेशका तीन प्रदेशसभा सदस्यलाई सचेत गराएको छ । बिहीबार बसेको समितिको बैठकले सर्लाही क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले सजगताका साथ पार्टीको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।

निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए । उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो भएपनि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी निर्वाह गर्न उनीहरूलाई निर्देशन दिएको छ ।

त्यस्तै, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् । उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो । बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।