काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा.धवलशम्शेरले राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताएका छन् । बिहीबार आफू पक्षीय नेताहरुको भेलामा राणाले आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकेपछि पार्टी छाडेको बताए ।
उनले भने, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो । यो खुसीको होइन, दुःखको दिन हो । जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ ।’
राणाले पछिल्लो चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको बताए । उनले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताए ।
उनले भने, ‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ । आन्दोलनको नेतृत्व गरेको थिएँ । पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ । तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन ।’

प्रतिक्रिया