काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भुटानलाई ५१ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो । भुटानका लागि डेचेन वाङ्मोले ६० बलमा सर्वाधिक ३९ रन बनाइन् ।
चाडो ओमले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालको बलिङतर्फ रुबिना क्षेत्रीले ३ तथा रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर र मनिषा उपाध्यायले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल २० ओभरमा ११३ रन बनाएर अलआउट भएको थियो । पहिलो खेलमा बुधबार कतारलाई ८ विकेटले हराएको नेपाल समूह ‘डी’ मा लगातार दोस्रो जित निकाल्न सफल भएको हो । नेपालले समूह चरणको अन्तिम खेल पर्सि हङकङसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया