इजरायल–लेबनानबीच युद्धविराम कार्यान्वयनमा सहमति, हिजबुल्लाहले पूर्ण रूपमा आक्रमण रोक्नुपर्ने


बीबीसी । इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न सहमत भएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले पूर्ण रूपमा आक्रमण रोक्नुपर्ने सर्तसहित युद्धविराम लागू गरिने भएको हो ।

यो सहमति दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु तथा हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेपछि भएको हो । अप्रिलमा भएको प्रारम्भिक युद्धविरामलाई दुवै पक्षले पुनः परीक्षण गरिरहेका बेला नयाँ सहमति भएको जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले ‘इजरायल र लेबनानबीचको सम्बन्धको भविष्य दुई सार्वभौम सरकारले नै निर्धारण गर्नुपर्ने’ उल्लेख गर्दै कुनै पनि राज्य वा गैर–राज्य पक्षले लेबनानको भविष्यलाई बन्धक बनाउन नपाउने स्पष्ट पारेको छ ।

सहमति अनुसार दक्षिणी लेबनानमा लिटानी नदीदेखि सीमा क्षेत्रसम्म इजरायलले नियन्त्रण गरेको क्षेत्रमा रहेका हिजबुल्लाहका सबै लडाकु हटाइनुपर्नेछ । साथै, अमेरिकी सहयोगमा लेबनानी सशस्त्र बलले मात्र नियन्त्रण गर्ने “पाइलट जोन” स्थापना गरिने बताइएको छ ।

यसअघि सोमबार आंशिक युद्धविराम भएको थियो । उक्त सहमतिअनुसार इजरायलले बेरुतमा बमबारी नगर्ने र त्यसको बदलामा हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगर्ने भनिएको थियो ।

दुवै पक्षबीच आगामी जुन २२ मा पुनः वार्ता हुने र ‘समग्र सहमति’ तर्फ छलफल अघि बढाइने जनाइएको छ । हिजबुल्लाहले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविराम घोषणाअघि लेबनानको सुरक्षाका लागि ‘हिजबुल्लाहबाट स्वतन्त्र कार्ययोजना’ तयार हुने अपेक्षा व्यक्त गरेका थिए ।

यसैबीच, लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार इजरायली आक्रमणमा मारिनेमा दुई जना प्यारामेडिक पनि थिए, जसको एम्बुलेन्स दक्षिणी चेहौर क्षेत्रमा निशाना बनाइएको थियो । राजधानी बेरुतको दक्षिण क्षेत्रमा एउटा कारमाथि पनि आक्रमण भएको जनाइएको छ ।

उता इजरायली सेनाले सीमा पार गरेर आएका एक ड्रोन र दुई वटा प्रोजेक्टाइल अवरोध गरिएको जनाएको छ । हिजबुल्लाहले भने इजरायली सैनिकहरूको जमघटलाई निशाना बनाएको दाबी गरेको छ ।

इजरायलले हिजबुल्लाहले उत्तरी क्षेत्रमा पुनः आक्रमण गरे बेरुतको दक्षिणी उपनगर दाहियेहमाथि फेरि सैन्य कारबाही सुरु गर्ने चेतावनी दिएको छ । लेबनानी सरकारका अनुसार सोमबारको आंशिक युद्धविराममा ‘हिजबुल्लाहले आक्रमण नगरेसम्म इजरायलले बेरुतमा व्यापक हमला नगर्ने’ सहमति भएको थियो ।