हेनरी नोवाकको हत्यापछि प्रहरीले गरेको व्यवहारप्रति बेलायती प्रधानमन्त्री रुष्ट


लन्डन । बेलायती प्रधानमन्त्री केइर स्टार्मरले हेनरी नोवाकको हत्यापछि प्रहरीले गरेको व्यवहार देखिने बडीक्याम फुटेज सार्वजनिक भएपछि प्रहरीको भूमिकामाथि “गम्भीर प्रश्न” उठेको बताएका छन् ।

२३ वर्षीय विक्रम डिग्वालाई सोमबार कम्तीमा २१ वर्ष जेल सजाय सुनाइएको थियो। उनले २१ सेन्टिमिटर लामो धारिलो हतियार प्रयोग गरी १८ वर्षीय विद्यार्थी हेनरी नोवाकको हत्या गरेका थिए। डिग्वाले उक्त हतियार आफूले सिख धर्मको आस्थाका कारण बोकेको दाबी गरेका थिए।

सार्वजनिक गरिएको बडीक्याम फुटेजमा साउथह्याम्पटन विश्वविद्यालयका विद्यार्थी नोवाकलाई प्रहरीले हतकडी लगाएको तथा उनले ‘म सास फेर्न सक्दिनँ’ भन्दै गुहार मागिरहेको देखिन्छ। घटनास्थलमा डिग्वाले आफू जातीय आक्रमणको शिकार भएको झूटो दाबी गरेका थिए।

घटनापछि साउथह्याम्पटन मा सयौँ मानिस प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी र दंगा नियन्त्रण प्रहरीबीच झडपसमेत भएको थियो।

यस घटनापछि बेलायती प्रहरी नेतृत्वले जातीय अल्पसंख्यक समुदायलाई फरक व्यवहार गर्नुपर्ने उल्लेख गरिएका जातिवादविरोधी प्रतिबद्धताहरू पुनरावलोकन गर्न थालेको छ। नेशनल पुलिस चिफ्स काउन्सिलले सांसदहरूले उठाएका चिन्ताप्रति आफू सचेत रहेको र आवश्यक परे परिवर्तन गरिने जनाएको छ।

गत वर्ष एनपिसीसीले सार्वजनिक गरेको दस्तावेजमा प्रहरी प्रणालीभित्र जातीय विभेद ‘वास्तविक समस्या’ रहेको उल्लेख गर्दै समान परिणाम हासिल गर्न सबैलाई एउटै व्यवहार गर्नु मात्र पर्याप्त नहुने बताइएको थियो।

गृहसचिव शबाना महमूदले साउथह्याम्पटनमा भएको अशान्तिलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ बताउँदै नोवाक परिवारले घटनालाई विभाजन र घृणा फैलाउने माध्यम नबनाउन गरेको अपीलको सम्मान गर्न आग्रह गरिन्।

प्रधानमन्त्री स्टार्मरले फुटेज ‘अत्यन्त पीडादायी’ रहेको भन्दै जातीय विभेदसम्बन्धी आरोपहरूले प्रहरीको निर्णय प्रक्रियालाई कसरी प्रभावित गर्यो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए।

प्रहरी निगरानी निकाय इन्डिपेन्डेन्ट अफिस फर पुलिस कन्डक्टले घटनाबारे अनुसन्धान जारी रहेको र आगामी तीन महिनाभित्र प्रतिवेदन सार्वजनिक गरिने जनाएको छ।