लामिछानेको यो भारत–यात्राले संवाद र सहकार्यका थुप्रै ढोका खोल्न सक्छ


नारायण गाउँले ।

विदेशमन्त्री यस्तो हुनुपर्छ भनेर उदाहरण दिनुपर्यो भने भारतका एस जयशङ्कर र इरानका अब्बास अर्गाचीको नाम पक्कै छुट्दैन । दुबैमा कूटनैतिक चातुर्य, आत्मविश्वास, उच्च वक्तृत्व र अन्तर्राष्ट्रिय मञ्चमा देशको स्वार्थलाई प्रतिरक्षा गर्न सक्ने क्षमता छ । भारतको अन्तर्राष्ट्रिय छवि र व्यक्तित्व निर्माणमा जयशङ्करको भूमिका निकै ठूलो छ ।

भारतसँगका कुनै पनि ठूला टेबलटकमा जयशङ्करजस्ता खारिएका, अध्ययनशील र तार्किक कूटनीतिज्ञलाई हावी हुनबाट रोक्ने काम नै चुनौतीपूर्ण हुन्छ । त्यसका लागि अर्को पक्षले ठूलो कसरत, अध्ययन र सावधानी अपनाउनुपर्छ । हामीसँग अन्तर्राष्ट्रिय एक्सपोजर भएका, आत्मविश्वासयुक्त र रिसोर्सफुल राजनैतिक व्यक्ति निकै कम छन् । हाम्रो मन्त्रिमण्डलमा स्वर्णिम वाग्ले एउटा उदाहरण हुन सक्छन् ।

तर, टेबलसम्म पुग्न पनि आफ्नै खालको कूटनीति र गृहकार्य जरूरी हुन्छ । कति मुद्दामा जति सरोकार र हतार हामीलाई हुन्छ, अर्को पक्षलाई नहुन सक्छ । पहिले त मुद्दा नै स्थापित गर्नुपर्ने पनि हुन्छ । कालापानी या लिपुलेकको मुद्दा, थप हवाई रूट र कनेक्टिभिटीको मुद्दा या सामुद्रिक पारवहनको मुद्दामा हामी जस्तो चासो र हतार भारतलाई हुँदैन । हाम्रो भूमिमार्फत् तेस्रो पक्षबाट हुने सुरक्षाचुनौती या जलस्रोतसँग सम्बन्धित विषय हाम्रो लागि भन्दा भारतको लागि बढी चासोको विषय हुनसक्छ ।
टेबलटक गर्ने भनेको, खोइ त भनेर मात्रै पनि हुँदैन । एक पक्षको चाहनाले मात्रै त्यो नहुन सक्छ । सीमाकै विषयमा पनि ९८% समस्या सकिइसकेको तर त्यही दुई प्रतिशतमा भारतले चासो नदेखाएको स्थिति छ । हवाई रुटमा पनि लामो समयको हाम्रो प्रयास उसले सुनेको छैन । बङ्गलादेश जोड्ने फूलबारी मार्गका लागि पनि दशकौँसम्म कसरत गर्नुपरेको थियो ।

मुख्य कुरा द्विपक्षीय संवाद, सम्पर्क, विश्वास र सक्रियताको हो । निरन्तर संवाद र पहलले ठूला समस्या पनि समाधान भएका छन् । के स्मरण गर्नुपर्छ भने विश्वभर सीमा मुद्दा छन्, हाम्रो पनि छ । तर आजको युगमा आर्थिक, सामाजिक र पर्यावरणका मुद्दा पनि उत्तिकै ज्वलन्त छन् । भारतसँग संवाद र हल गर्नुपर्ने थुप्रै अन्य मुद्दा पनि छन् ।

रवि लामिछानेको यो भ्रमण संवादको वातावरण सिर्जना गर्न फलदायी बन्न सक्छ । उनलाई भारतले देखाएको न्यानोपनलाई हामीले सकारात्मक र सिर्जनशील ढङ्गले उपयोग गर्न सक्छौँ । नेपालमा धेरैपछि स्थायी, बलियो र लोकप्रिय सरकार भएकाले भारतलाई पनि आफ्नो मुख्य चासो र मुद्दा सम्बोधन गर्ने अवसर छ । हामीले उसलाई पनि सुन्ने र हाम्रा चासो पनि सुनाउने अवसर छ ।

यो तस्बिरलाई उदाहरण मानेर, प्रोटोकल प्रोटोकल मात्रै नभनी राष्ट्रिय स्वार्थ र मुद्दाका लागि संवादका जस्तो सुकै अवसर पनि उपयोग गर्ने नीति हामीले अपनाउन सक्छौँ । भेट्नु, बोल्नु या संवाद गर्नु नै लम्पसार पर्नु हो भन्ने भाष्य तोड्न सक्छौँ । आफ्नो काम र स्वार्थलाई प्राथमिकता दिनु नै सफल कूटनीति हो । लामिछानेको यो भारत–यात्राले संवाद र सहकार्यका थुप्रै ढोका खोल्ने आशा र विश्वास बढेको छ । उनलाई शुभकामना !