सीमा विवादमा बालेनले खोजेका थिए इङ्ल्याण्डको साथ, भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार


काठमाडौँ । भारतले द्विपक्षीय सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ । मंगलबार नयाँदिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताएका हुन् ।

उनले नेपालका प्रधानमन्त्री बालेन साहको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको बताए ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन साहले नेपाल र भारत बीचको सीमा विवाद समाधानका लागि इङ्ल्याण्डकोसमेत साथ खोजिरहेको बताएका थिए ।

उनले भने,‘द्विपक्षीय रुपमा हुनसक्ने समाधानका लागि कुनै तेस्रो पक्षको आवश्यकता पर्दैन ।’ उनले नेपाल र भारतबीचको सीमा सम्बन्धी ९८ प्रतिशत विवाद समाधान भइसकेको र केही स्थानको मात्र मिलाउन बाँकी रहेको बताए ।

उनले भने, ‘केही स्थानमा क्रस बोर्डर होल्डिङको समस्या छ। त्यस्तै दशगजा क्षेत्रमा पनि केही अतिक्रमण भएका छन्। यी समस्या समाधान गर्नका लागि कूटनीतिक रुपमा दुवै पक्षले काम गरिरहेका छन् ।’