काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता डा. भीम रावलले नेपालको भौगोलिक अखण्डतामा आँच पुर्याउने प्रधानमन्त्री बालेन साहले संसदमा दिइएको अभिव्यक्तिलाई गम्भीर रुपमा लिदै त्यसलाई सम्पूर्ण नेपाली जनताले अस्वीकार गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक संजालमार्फत रावलले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । उनले भनेका छन्, ’आज २०८३ साल जेठ १७ गते नेपाल र नेपाली जनताको लागि एउटा विस्मयको दिन भएको छ । किनकी देशको सार्वभौमसत्ता अखण्डता र सुरक्षाको प्रमुख जिम्मेवारी बहन गर्नुपर्ने प्रधानमन्त्री बालेन्द्र साहले ‘प्रधानमन्त्री भएपछि नेपालले भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएँ’ भन्ने जस्तो अत्यन्त आपत्तिजनक कुरा भन्नुभएछ। नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसदमा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार हुँदैन।’
उनले प्रधानमन्त्रीको अभिव्यक्ति प्रकारान्तरले आफ्नो भूभाग अरु देशलाई सुम्पने किसिमको भएको बताए । उनले भनेका छन्, ‘जो व्यक्ति संसदमा यस्तो अभिव्यक्ति दिएर प्रकारान्तरले आफ्नो भूभाग अरु देशलाई सुम्पने किसिमको अभिव्यक्ति संसदमा दिन्छ र प्रधानमन्त्री नहुँदा अघिसम्म आफूलाई आफ्नो देशको भूभागबारे जानकारी नभएको भन्ने अर्थमा बोल्छ त्यस्तो व्यक्ति नेपालको प्रधानमन्त्रीको पदमा आसिन हुनु नेपाल र नेपाली जनताको ठूलो दुर्भाग्य ठहर्दैन त ? प्रधानमन्त्री शाहले नेपालले भारतको जग्गा कहाँ, कति र कहिलेदेखि मिचेको छ, तत्काल नेपाली जनतालाई जानकारी गराउनुपर्छ । यसबारे कहिल्यै कसैको अधीनमा नगएको स्वाधीन, स्वाभिमानी र अखण्ड नेपालका देशभक्त नेपाली जनताले तत्काल प्रधानमन्त्रीको जवाफ माग्नुपर्छ । झन्डै दुईतिहाइ बहुमतका साथ नेपाल सरकारको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र त्यसका सांसद र सदस्यहरूको धारणा नेपाली जनताले तत्काल पाउनुपर्छ र जनताले त्यस्तो जवाफ खोज्नुपर्छ।’
एमाले प्रमुख सचेतक पद्मा अर्यालले नेपालको भूमिको विषयमा राखेको प्रश्नको जवाफ दिने क्रममा प्रधामनन्त्रीले भारतले मात्र होइन, नेपालले पनि भारतको जमिन मिचेको जानकारी आफूलाई आएको बताएका थिए ।

प्रतिक्रिया