इरानका बन्दरगामा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी क्षेप्यास्त्र प्रहार


वासिङ्टन। अमेरिकी सेनाले इरानका बन्दरगाहहरूमा लगाएको नाकाबन्दी तोडेर प्रवेश गर्न खोजेको एउटा मालवाहक जहाजलाई रोक्न त्यसको इन्जिन कक्षमा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

अमेरिकी केन्द्रीय कमाण्डका अनुसार गाम्बियाको झण्डा बोकेको एक मालवाहक जहाजले इरानको बन्दरगाहमा प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी सेनाले २० भन्दा बढी चेतावनी दिएको थियो। चेतावनीलाई बेवास्ता गरेपछि जहाजको इन्जिन क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ। हाल उक्त जहाज ओमानको खाडी क्षेत्रमा चल्न नसक्ने अवस्थामा रहेको छ।

अमेरिकी सेनाले अझै जहाजमा चढेर नियन्त्रणमा लिएको छैन। अमेरिकी सेनाका अनुसार नाकाबन्दी सुरु भएयता इरानतर्फ जान खोजेका ६ वटा जहाजलाई रोकिएको छ।

तीमध्ये एउटा जहाजलाई पछि अगाडि बढ्न अनुमति दिइएको थियो भने ११६ वटा जहाजलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य पारिएको छ। अमेरिकाले अप्रिल १७, २०२६ मा इरानमाथि समुद्री नाकाबन्दी लागू गरेको थियो।

यो कदम इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा आवागमन प्रभावकारी रूपमा बन्द गरेपछि चालिएको थियो। मध्यपूर्वमा युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको थियो।

हाल अप्रिल ७ मा भएको युद्धविराम कायम रहेको छ। तर इरानको आणविक कार्यक्रमबारे वार्ता गर्न युद्धविराम थप ६० दिन लम्ब्याउने विषयमा छलफल भइरहेको छ।

होर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो। त्यहाँको तनावका कारण तेल, प्राकृतिक ग्यास र मलजस्ता वस्तुको आपूर्तिमा असर परेको छ, जसले विश्व अर्थतन्त्र र उपभोक्ताहरूलाई दबाबमा पारेको छ।

अमेरिकाले लगाएको नाकाबन्दीको उद्देश्य इरानको व्यापार र तेल निर्यातलाई सीमित गर्दै उसको अर्थतन्त्रमा थप दबाब सिर्जना गर्नु रहेको बताइएको छ।