सत्तापक्षका सांसदहरू केक्के नै बुझे झैँ मच्चिमच्चि टेबल ठटाउनै पर्ने छ त बजेट ?


रवीन्द्र मिश्र ।

म अर्थशास्त्री होइन । अर्थशास्त्रको पृष्ठभूमि नभएका राजनीतिकर्मीहरूले बजेटका अति प्राविधिक विषयमा, हतार नगरी, अलिकति अध्ययन गरेर मात्र टिप्पणी गर्नु राम्रो । तर रमाइलो कुरा, अर्थमन्त्रीले हतपति सामान्य मानिसहरूले बुझ्दै नबुझ्ने प्राविधिक वाक्यहरू बोल्दै गर्दा सत्ता पक्षका सांसदहरू केक्के नै बुझे झैँ मच्चिमच्चि टेबल ठटाउँदै थिए। अनि विपक्षी सांसदहरू संसद भवनबाट निस्किने वित्तिकै सबै बुझे जसरी टिप्पणी गर्दै थिए।

अब मेरो कुरा गरौँः
मेरो आधारभूत सामान्य सुझबुझले के भन्छ भनेः नेपालजस्तो राज्य प्रणाली कमजोर, पेशागत दक्षताको तीव्र अभाव भएको देशमा अति महत्वाकांक्षा छरपस्ट छरिँदा, लक्ष्य हासिल गर्न लगभग असंभव हुन्छ। लक्ष्य गरिए अनुरूप ७% आर्थिक वृद्धि हासिल गरियो भने त्यो त ऐतिहासिक हुनेछ। म त खुसीले उफ्रिने छु। इमानदारीपूर्वक भन्दा, मैले बजेटमा focus–focus–focus’ खोजेको थिएँ। ऐतिहासिक फोकस । कहिलेकाहीँ राष्ट्रको जीवनमा आमूल परिवर्तन ल्याउन त्यस्तो फोकस हुनैपर्छ।

उदाहरणका लागिः
– सन् १९६५ मा अमेरिकामा नासाको आधा र देशको कूल बजेटको ४.५% खर्च गरिएको Apollo Program (चन्द्रमा–यात्रा)।
– सन् १९६७ मा दक्षिण कोरियामा कूल बजेटको लगभग २५% खर्च गरिएको सोल–बुशान राजमार्ग।
– अरू पनि त्यस्ता उदाहरण छन्ःPanama Canal, Three Gorges Dam, Belt and Road etc
दक्षिण कोरियाले सोल–बुशान राजमार्ग बनाउँदा ऊ हामीजस्तै गरिव थियो तर सो राजमार्ग देशको आर्थिक उद्वेलनको मेरूदण्ड हुने निष्कर्षमा पुगेपछि सारातिर बजेट कटौति गरेर त्यसमा ऐतिहासिक लगानी गरियो ।

स्वर्णिम वाग्ले जस्तो अर्थशास्त्रीले कमसेकम एक÷दुई वटा त्यस्ता आमूल परिवर्तनकारी ऐतिहासिक कामको घोषणा गर्नेछन् भन्ने अपेक्षा थियो। संरचनागत सुधारका थुप्रै कार्यक्रम छन् तर आमूल रूपान्तरणको आशा र विश्वास जगाउने कार्यक्रम के छ, म अझै खोज्दै छु। यद्दपी, विगतसँग तुलना गर्दा यसपटकको बजेटको सकारात्मक परिणाम बारे म निकै आशावादी छु। र, सुशासनको हकमा, प्रचण्डवादी नै भए पनि, यो सरकारप्रति मेरो ठूलो–ठूलो–ठूलो सदासयता छ। स्वर्णिममजीप्रति नहुने त झन कुरै भएन।