मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छः अध्यक्ष श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।

शनिबार नेपाल जग्गा तथा आवास विकास संघ को १९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूले कठिन परिस्थितिमा पनि संघर्ष गर्दै अघि बढ्न खोजिरहेको बताए । उनले देशमा रोजगारीका लागि विदेश जानुपर्ने, उपभोगका वस्तु विदेशबाट आयात गर्नुपर्ने तथा आम्दानीको प्रमुख माध्यम घरजग्गा कारोबार बन्ने धारणा बलियो बन्दै गएको उल्लेख गरे ।

उनले भने, ‘मुलुक चुनौतीपूर्ण स्थितिमै छ । हामी व्यवसायीहरु जे जस्तो भए पनि ठडिएर हिँड्न खोज्छौं । यो देशमा रोजगारीको लागि विदेशै जानुपर्ने, उपभोगको लागि विदेशबाटै ल्याउनुपर्ने, पैसा कमाउन घरजग्गाकै कारोबार गर्नुपर्ने हो की क्या हो ? अन्यमा खासै पैसा कमाउन सकिएन भन्ने भाष्य छ ।’

अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा केही सकारात्मक पक्ष समेटिएको पनि बताए । उनले भने, ‘अहिले बजेटमा केही राम्रो आएको छ । आय करको दरहरु अलिकति घटाउन खोजेको छ । मध्यम आयस्तरलाई अलिकति प्रोत्साहन गर्न खोजेको जस्तो लाग्छ । युवालाई प्रोत्साहन गर्न खोजेको जस्तो देखिन्छ । आइटीमा पनि प्रोत्साहन गरेको देखिन्छ । पूर्वाधारमा पनि केही खर्च बढाउने किसिममा गएको छ । यो वर्ष धेरै पछि भनौं कमसेकम पूँजीगत खर्चको विकास बजेट बढाएको छ । बजार चलायमान भएन भन्ने कुराहरु सम्बोधन गर्छ कि जस्तो लाग्छ । ’