डा. गोविन्दशरण उपाध्याय ।
एकजना जिज्ञासु विद्यार्थीले सोधे— ‘सर ! कुन गीता राम्रो र प्रमाणिक हुन्छ ?’ साधारणजस्तो लाग्ने यो प्रश्न वास्तवमा अत्यन्त गम्भीर छ। किनभने आज बजारमा श्रीमद्भगवद्गीताका अनेकौँ अनुवाद, टीका, भाष्य र व्याख्याहरू उपलब्ध छन्। हरेक प्रकाशक, हरेक संस्था, हरेक सम्प्रदाय र हरेक गुरु–परम्पराले आफ्नो व्याख्यालाई नै सर्वश्रेष्ठ, प्रमाणिक र अन्तिम सत्यका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढ्दै गएको छ। कतिपयले मूल संस्कृत श्लोकहरूको शुद्ध उच्चारणसमेत गर्न नसक्दा पनि प्रभावशाली अंग्रेजी भाषणका आधारमा गीताको ‘अन्तिम अर्थ’ बताउने दाबी गरिरहेका छन्। कतिपयले आफ्ना गुरुबाट व्याख्या गरिएको गीताबाहेक अरू सबैलाई अधूरो, कमजोर वा अप्रमाणिक ठहर्याउने मानसिकता विकास गरेका छन् । यस्तो अवस्थामा “कुन गीता पढ्ने ?” भन्ने प्रश्न केवल पुस्तक छनोटको प्रश्न होइन; यो वैदिक ज्ञानपरम्परा, भाषागत प्रमाणिकता, आध्यात्मिक स्वतन्त्रता र बौद्धिक विवेकको प्रश्न हो।
आज श्रीमद्भगवद्गीता विश्वभरिका जिज्ञासुहरूका लागि आध्यात्मिक, दार्शनिक र नैतिक प्रेरणाको महत्त्वपूर्ण स्रोत बनेको छ। यो अत्यन्त सुखद कुरा हो। गीता अब केवल भारतवर्ष वा वैदिक संस्कृतिको सीमाभित्र मात्र बाँधिएको ग्रन्थ रहेन; यो विश्वमानवका लागि आत्मचिन्तन, कर्तव्यबोध, समत्व, योग, भक्ति, ज्ञान र कर्मको जीवनदर्शन बनेको छ। अंग्रेजी, नेपाली, हिन्दी, फ्रेन्च, जर्मन, रुसी, चिनियाँलगायत धेरै भाषामा गीता उपलब्ध हुनु यसको सार्वभौमिक आकर्षणको प्रमाण हो। तर यही लोकप्रियतासँगै अर्को समस्या पनि देखा परेको छ—गीताको आध्यात्मिक गरिमालाई बजारको वस्तुमा रूपान्तरण गर्ने प्रवृत्ति। केही व्यापारी मानसिकताका व्यक्तिहरूले गुरु, प्रवचनकर्ता वा आध्यात्मिक प्रशिक्षकको आवरणमा सर्वसाधारणको आध्यात्मिक चाहनालाई आर्थिक लाभको साधन बनाइरहेका छन्। यसैले जिज्ञासुहरू सचेत हुनु आवश्यक छ।
गीताको व्याख्या परम्परा अत्यन्त विशाल, बहुआयामिक र गौरवपूर्ण छ। आदिशंकराचार्यले अद्वैत वेदान्तको आधारमा गीताको गम्भीर भाष्य प्रस्तुत गर्नुभयो। उहाँपछि रामानुजाचार्यले विशिष्टाद्वैत दृष्टिकोणबाट, मध्वाचार्यले द्वैत दृष्टिकोणबाट, निम्बार्काचार्यले द्वैताद्वैत दृष्टिकोणबाट, वल्लभाचार्यले शुद्धाद्वैत दृष्टिकोणबाट, चैतन्य परम्पराले अचिन्त्यभेदाभेद दृष्टिकोणबाट, अभिनवगुप्त आदि आचार्यहरूले आफ्ना आध्यात्मिक र दार्शनिक आधारभूमिमा गीताको व्याख्या गरे। यी सबै व्याख्याहरू वैदिक चिन्तनको समृद्ध विविधताका उदाहरण हुन्। यिनलाई एकअर्काको शत्रुका रूपमा होइन, एउटै सत्यतर्फ जाने फरक–फरक दृष्टिपथका रूपमा बुझ्नुपर्छ।
वैदिक संस्कृतिको मूल स्वभाव नै विविधतामा एकता हो। यहाँ एकै आध्यात्मिक सत्यलाई ज्ञानमार्गीले ब्रह्मज्ञानका रूपमा, भक्तिमार्गीले ईश्वरप्रेमका रूपमा, कर्मयोगीले निष्काम कर्मका रूपमा, योगीले अन्तःशुद्धि र समाधिका रूपमा बुझ्न सक्छ। यसैले गीता केवल अद्वैतको ग्रन्थ मात्र होइन, केवल भक्ति ग्रन्थ मात्र होइन, केवल कर्मयोगको ग्रन्थ मात्र पनि होइन। यो ती सबैलाई समन्वय गर्ने अद्भुत शास्त्र हो। आफ्नो आध्यात्मिक संस्कार, बौद्धिक रुचि र साधनात्मक प्रवृत्तिअनुसार जिज्ञासुले विभिन्न भाष्य र टीका पढ्न सक्छ। तर आफ्नै रुचिको व्याख्यालाई मात्र अन्तिम सत्य ठानेर अरू सबैलाई अस्वीकार गर्नु वैदिक उदारताको विपरीत हो।
यहाँ एउटा गम्भीर कुरा बुझ्नुपर्छ—गीताको मूल ग्रन्थ संस्कृत भाषामा छ। अनुवाद आवश्यक छन्, उपयोगी छन्, अध्ययनका लागि सहायक छन्; तर अनुवाद कहिल्यै मूल ग्रन्थको पूर्ण विकल्प हुन सक्दैन। हरेक भाषाका आफ्नै सीमा र सामथ्र्य हुन्छन्। संस्कृतमा प्रयोग भएका शब्दहरू—धर्म, योग, कर्म, ज्ञान, भक्ति, आत्मा, ब्रह्म, प्रकृति, पुरुष, संन्यास, त्याग, समत्व, श्रद्धा—यी सबै शब्दहरू केवल शब्द होइनन् । ती दर्शन, साधना र अनुभूतिको बहुस्तरीय अर्थ बोकेका तत्त्वशब्द हुन्। यिनलाई अंग्रेजी, नेपाली वा अरू भाषामा अनुवाद गर्दा केही न केही अर्थछाया छुट्ने सम्भावना हुन्छ। त्यसैले संस्कृत नजान्नेले अनुवादबाट गीता पढ्नै हुँदैन भन्ने होइन, तर गीता गहिराइमा बुझ्न चाहनेले संस्कृतप्रति श्रद्धा र जिज्ञासा अवश्य राख्नुपर्छ।
दुर्भाग्यवश औपनिवेशिक मानसिकताको प्रभावले आज पनि धेरैजसो शिक्षित वर्गमा अंग्रेजीमा लेखिएको कुरा नै बढी प्रमाणिक हुन्छ भन्ने भ्रम बाँकी छ। कुनै गुरु वा प्रवचनकर्ताले अंग्रेजीमा प्रभावशाली भाषण गरेकै आधारमा उसको गीताव्याख्या प्रमाणिक ठहरिनु हुँदैन। भाषाको प्रभाव र विचारको प्रमाणिकता एउटै कुरा होइनन्। राम्रो अंग्रेजी बोल्नु र गीताको मूल मर्म बुझ्नु फरक कुरा हुन्। त्यस्तै संस्कृत श्लोक उदृत गर्नु र गीताको आत्मा बुझ्नु पनि फरक कुरा हुन्। गीताको अध्ययनमा भाषा, तर्क, परम्परा, साधना, विनय र शास्त्रीय अनुशासन सबै आवश्यक छन्।
‘कुन गीता प्रमाणिक हो ?’ भन्ने प्रश्नको सबैभन्दा स्पष्ट उत्तर हो—श्रीमद्भगवद्गीताका मूल ७०० संस्कृत श्लोकहरू नै सर्वाधिक प्रमाणिक गीता हुन्। व्याख्या, टीका, भाष्य, अनुवाद र प्रवचनहरू तिनका सहायक साधन हुन्। ती उपयोगी हुन सक्छन्, प्रेरक हुन सक्छन्, मार्गदर्शक हुन सक्छन्, तर मूल श्लोकभन्दा माथि कोही पनि हुन सक्दैन। जसलाई साँच्चिकै गीताको ज्ञान चाहिएको छ, उसले कम्तीमा मूल संस्कृत श्लोकसहितको गीता पढ्ने अभ्यास गर्नुपर्छ। दैनिक एक श्लोक मात्र पढे पनि करिब दुई वर्षमा सम्पूर्ण गीता अर्थसहित अध्ययन गर्न सकिन्छ। यसरी अध्ययन गर्दा संस्कृत भाषाको परिचय पनि बढ्छ, गीताको मूल सन्देश पनि आत्मसात् हुन्छ र ‘कुन अनुवाद ठीक होला ?’ भन्ने भ्रम पनि विस्तारै हट्दै जान्छ।
यसको अर्थ सबै अनुवाद र भाष्य अस्वीकार गर्नुपर्छ भन्ने होइन। उल्टो, राम्रा अनुवाद र भाष्यहरू अध्ययनका लागि अत्यन्त उपयोगी हुन्छन्। तर तिनलाई मूल ग्रन्थको सहायकका रूपमा लिनुपर्छ, प्रतिस्थापनका रूपमा होइन। विशेषगरी प्राचीन आचार्यहरूका भाष्यहरू—शंकर, रामानुज, मध्व, निम्बार्क, वल्लभ, श्रीधर स्वामी, मधुसूदन सरस्वती आदि परम्पराका ग्रन्थहरू—गीता बुझ्नका लागि अत्यन्त मूल्यवान् छन्। यी भाष्यहरू आ–आफ्ना दार्शनिक मतका आधारमा लेखिएका भए पनि वैदिक परम्पराको शास्त्रीय अनुशासनभित्र छन्। ती व्याख्याहरूमा मतभेद हुन सक्छ, तर शास्त्रप्रतिको श्रद्धा, तर्कको मर्यादा र साधनाको गम्भीरता पाइन्छ।
यसको विपरीत आधुनिक बजारमुखी व्याख्याहरूमा कहिलेकाहीँ गीतालाई आफ्नै विचारधाराको प्रचारसामग्री बनाउने प्रवृत्ति देखिन्छ। कसैले गीतालाई केवल व्यवस्थापनको पुस्तक बनाउँछ, कसैले केवल मनोविज्ञानको पुस्तक, कसैले केवल युद्धनीतिको ग्रन्थ, कसैले केवल धर्मनिरपेक्षता वा धर्मसमन्वयको घोषणापत्र। यी सबै दृष्टिकोण आंशिक रूपमा उपयोगी हुन सक्छन्, तर गीतालाई आफ्नो सीमित एजेन्डाभित्र कैद गर्नु उचित होइन। गीता जीवनको समग्र ग्रन्थ हो—यो आत्मा, ईश्वर, जगत्, कर्तव्य, धर्म, योग, मोक्ष, भक्ति, ज्ञान, कर्म, संन्यास, समाज र आचरण सबैसँग सम्बन्धित छ।
यदि कसैले ‘मेरो गुरुको गीता मात्र प्रमाणिक हो, अरू सबै गलत हुन्’ भन्छ भने त्यसले गीता र वैदिक परम्पराको आत्मालाई नबुझेको हो। वैदिक धर्म अब्राहमिक शैलीको एकमात्र पुस्तक, एकमात्र पैगम्बर, एकमात्र व्याख्या र एकमात्र मार्गको आग्रहमा आधारित परम्परा होइन। यहाँ श्रुति, स्मृति, पुराण, दर्शन, आगम, निगम, भक्ति, योग, तन्त्र, वेदान्त, न्याय, सांख्य, मीमांसा, विभिन्न आचार्य र विभिन्न साधना–मार्गहरूको विशाल परम्परा छ। त्यसैले ‘यो व्याख्या पढ्नुहोस्’ भन्नु उचित हो; तर ‘योबाहेक अरू सबै अप्रमाणिक छन्’ भन्नु वैदिक चिन्तनको अपमान हो।
गीता पढ्ने सही तरिका तीन तहमा हुन सक्छ। पहिलो, मूल संस्कृत श्लोकलाई सम्मानपूर्वक पढ्ने। दोस्रो, शाब्दिक अर्थ र व्याकरणिक अर्थ बुझ्ने प्रयास गर्ने। तेस्रो, कुनै प्रमाणिक परम्परागत भाष्यको सहायताले दार्शनिक र आध्यात्मिक अर्थ ग्रहण गर्ने। जिज्ञासुले एकभन्दा बढी भाष्य तुलना गरेर पढ्न सक्यो भने अझ राम्रो हुन्छ। यसले संकीर्णता हटाउँछ, विवेक बढाउँछ र गीताको व्यापकता बुझ्न मद्दत गर्छ।
गीताको अध्ययन केवल जानकारी सङ्कलन होइन । यो आत्मपरिवर्तनको प्रक्रिया हो। गीता पढेर पनि यदि अहंकार बढ्छ, अरू मतप्रति घृणा बढ्छ, आफ्नो सम्प्रदाय मात्र श्रेष्ठ भन्ने अभिमान बढ्छ, गुरु–व्यापारमा फस्ने प्रवृत्ति बढ्छ भने त्यो गीताको अध्ययन होइन, गीताको नाममा मानसिक बन्धन हो। गीता पढेपछि विवेक, विनय, समत्व, कर्तव्यनिष्ठा, आन्तरिक शान्ति, ईश्वरप्रति श्रद्धा र सबै प्राणीप्रति करुणा बढ्नुपर्छ। यही गीताको वास्तविक प्रभाव हो।
अन्ततः “कुन गीता पढ्ने ?” भन्ने प्रश्नको उत्तर सरल तर गहिरो छ—पहिले मूल संस्कृत श्लोकसहितको गीता पढ्नुहोस्। त्यसपछि आफ्नो रुचि र साधनात्मक प्रवृत्तिअनुसार प्रमाणिक आचार्यहरूको भाष्य पढ्नुहोस्। अंग्रेजी, नेपाली, हिन्दी वा अन्य भाषाका अनुवादहरू पढ्दा पनि मूल श्लोकसँग तुलना गर्ने बानी बसाल्नुहोस्। कुनै व्यक्ति, संस्था वा गुरुको दाबीको आधारमा होइन, शास्त्र, परम्परा, तर्क, साधना र विवेकका आधारमा गीता बुझ्ने प्रयत्न गर्नुहोस्।
गीता कसैको निजी सम्पत्ति होइन। यो मानवताको आध्यात्मिक धरोहर हो। यसको प्रमाणिकता बजारको प्रचारमा होइन, मूल श्लोकमा छ । यसको शक्ति भाषणको चमकमा होइन, जीवनपरिवर्तनमा छ । यसको सार संकीर्ण दाबीमा होइन, समत्व, योग, ज्ञान, भक्ति र निष्काम कर्मको जीवनदर्शनमा छ। त्यसैले गीता छान्दा पुस्तक मात्र नछानौँ; दृष्टि छानौँ, विवेक छानौँ, परम्परासम्मत अध्ययन छानौँ र अन्ततः आफ्नै अन्तःकरणलाई शुद्ध बनाउने साधना छानौँ। यही नै गीताप्रतिको सच्चा श्रद्धा हो।

प्रतिक्रिया