कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा सामुदायिक विद्यालयतर्फबाट पहिलो पटक चार जिपिए ल्याउने छात्रालाई नगदसहित सम्मान गरेको छ ।
गाउँपालिकाले शुक्रबार आयोजित कार्यक्रममा सार्दिखोलास्थित माछापुच्छ्रे माध्यमिक विद्यालयकी छात्रा शोभा गौतमलाई रु ५० हजार नगद र सम्मान पत्र प्रदान गरेको हो ।
गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमध्ये पहिलो पटक चार जिपिए ल्याउने विद्यार्थीका रूपमा गौतमले यो सफलता हासिल गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ र प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले उहाँलाई संयुक्त रूपमा सम्मान गरे ।
सम्मानपछि छात्रा गौतमले आफ्नो सफलतामा व्यक्तिगत मेहनत, शिक्षकहरूको मार्गदर्शन, परिवारको साथ तथा गाउँपालिकाको प्रोत्साहनको महत्त्वपूर्ण भूमिका रहेको बताइन् । निरन्तर परिश्रम, अनुशासन र सकारात्मक वातावरणले सफलता सम्भव हुन्छ भन्ने अनुभव प्राप्त गरेको उनको भनाइ थियो । गाउँपालिकाका अध्यक्ष गुरुङले गाउँपालिकाबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई आगामी वर्षहरूमा पनि नगदसहित सम्मान गर्ने बताए ।

प्रतिक्रिया