डा. गोविन्दशरण उपाध्याय ।
गणतन्त्र पनि अरू राजनैतिक व्यबस्था जस्तै एउटा हो, यो निर्विकल्प होइन । नियत र मनमा करूणा भए जुनसुकै व्यबस्था असल हुन्छन् । केवल गुणगान गाउँदैमा गणतन्त्र मात्र होइन कुनै पनि व्यबस्था असल हुँदैनन् । व्यबस्थाले राम्रो काम गरेपछि गुनासो कम हुन्छ । नेपालमा लोकतन्त्र आएपछि गुनासाहरू कम भएका छैनन् अपितु बढेका छन् । गुनासाहरू बढ्नुलाई ‘लोकतन्त्रको सुन्दरता’ भन्दै अपव्याख्या गर्नुले गुनासाहरूको समाधान दिंदैन । लोकतन्त्र भित्रका विकृतिहरूलाई ढाक्ने यस्तो ‘सुनको विर्को। औचित्यहीन भैसकेको छ ।
सत्य नमिठो हुन्छ तर धेरै भाषा, धेरै संस्कृति, धेरै धर्म, धेरै जातजाति र कविलाहरूले निर्माण भएको देशमा नेपालले अवलम्बन गरेको गणतन्त्र सफल भएको विश्वमा कुनै उदहारण छैन । धेरैजसो लोकतान्त्रिक व्यबस्थाहरू अमेरिका वा युरोपेली मान्यता (Validity) प्राप्त गर्न अङ्गीकार गर्ने सत्य लुकेको छैन ।
बहुलताको मानवीय समाजको वास्तविकता हो र नेपाली समाज बहुलताले भरिपूर्ण छ । बहुलता सधैं र सबै ठाउँमा गौरवको विषय हुँदैन । अफ्रिकेली र अमेरिकी राष्ट्रहरूका लागि बहुलता गरिवी, आपसी द्वन्द, राजनैतिक आस्थाका आधारमा विभेद र अहंकारवादको कारण बनेको छ । नेपाल पनि यस्तै अहंकारमा अल्झिएको मानसिकतामा उभिएको देश बन्दै छ ।
गौरवका शब्द खर्चंदैमा, टुँडिखेलमा सरकारी कवायत गर्दैमा, सरकारी र ।तन्त्रका समर्थकहरूले गुणगान गाउँदै मा वा देवत्वकरण गर्दैमा’ कुनै व्यबस्था रामराज्य हुँदैन । नेपालले अङ्गीकार गरेको गणतन्त्र कुनै देउता होइन । यसमा पनि अमेरिकी तथा अफ्रिकेली राष्ट्रहरूले भोगिरहेका कष्टकर अविश्वासहरू, कहिल्यै प्राप्त पुरा नहुने बाचाहरू र युरोपेली प्रतिमानको गणतन्त्र वा लोकतान्त्रिक व्यबस्था नै सबै समस्याहरूको समाधान हो भन्ने अहंकार र जिद्दीपन लुकेको छ ।
आजको बास्तविकता के हो भने नेपालजस्ता अनेकौं विश्वराष्ट्रहरूले युरोपेली प्रतिमानको गणतन्त्र वा लोकतान्त्रिक व्यबस्थाको पक्षमा जिद्दीवाल छन् किन भने यी व्यबस्थासंग युरोपेलीहरूको स्वीकृति (Validity) जोडिएको छ । उदाहरणका लागि चाइना वा सिंगापुर दूवै तीब्रतर विकास गर्ने मुलुक हुन् । सिंगापुर युरोपेली प्रतिमानको लोकतान्त्रिक मुलुक होइन तर व्यापारिक स्वार्थका कारण युरोपेलीहरू (युरोपेली अर्थात् युएस, अस्ट्रेलिया र ब्रिटेन)को स्वीकृति प्राप्त गर्न सफल छ तर चाइनाले उनीहरूको ब्राण्ड अस्वीकार गर्छ त्यसैले युरोपेलीहरूका लागि अछुतसरह छ ।
नेपाली राजनैतिक व्यवस्थाका लागि अङ्गीकार गरिएको वर्तमान लोकतान्त्रिक माइन्ड-सेटको सबैभन्दा ठुलो समस्या के हो भने यसले युरोसेट्रिक लोकतान्त्रिक व्यबस्थाको विकल्पका विषयमा छलफल गर्न रोक्छ र किन अफ्रिकेली र अमेरिकी राष्ट्रहरूमा यो व्यबस्था असफल छ भन्ने विषयको छलफलबाट जोगिन्छ । यस अर्थमा, युरोसेन्ट्रीक लोकतान्त्रिक माइन्ड-सेट कम्युनिष्ट, राजतन्त्र वा फाँसीवाद भन्दा पनि अनुदार छ । जतिसुकै अव्यास्था, अराजकता, न्यायहीन तथा सुड़ो भए पनि आफ्नै पक्षमा उभिन्छ र दोषजति सम्बन्धित ‘व्यक्ति’हरूलाई बोकाउन्छ ।
विकल्प सबैको हुन्छ र लोकतन्त्र, प्रजात्रन्त्र वा गणतन्त्रको पनि हुन्छ । जसरी राष्ट्रहरूका सीमा शाश्वत हुँदैनन् र हुनै सक्दैनन् त्यसैगरी राजनैतिक व्यबस्थाहरू पनि शाश्वत हुनैसक्दैनन् । आजको वैश्विक आवश्यकता र माइन्ड-सेटलाई युरोसेट्रिक लोकतन्त्रले समाधान दिन सक्दैन । वैश्विकतहमा छलफल चल्नुपर्छ । राजनैतिक र शैक्षिक नेतृत्वले ‘लोकतन्त्र, प्रजातन्त्र वा गणतन्त्र’लाई निर्विकल्प ठान्ने आफ्नो माइन्ड-सेटको समीक्षा गर्नुपर्छ ।
गणतन्त्र दिवस मनाउंदैमा गणतन्त्र बलियो हुँदैन सुन्दर र परिणाम मुखी हुँदैन । गणतन्त्रको बखानमा घन्टौं भाषण गर्दैमा जनताका गुनासाहरू, राष्ट्रका समस्याहरू समाधान हुँदैनन् तर यसको अर्थ निष्क्रियता स्वीकार्य हुन्छ भन्ने पक्कै होइन ।

प्रतिक्रिया