इरान–अमेरिकाबीच जारी युद्धविराम ६० दिन लम्ब्याउने सहमति, होर्मुज नाका खुला गरिने


रोयटर्स । अमेरिका र इरानबीच जारी युद्धविराम थप ६० दिन लम्ब्याउने तथा होर्मुज जलडमरूमध्यमार्फत जहाज आवतजावत खुला गर्ने विषयमा सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको बताइएको छ । रोयटर्सका अनुसार प्रस्तावित सहमतिअनुसार होर्मुज जलडमरूमध्यमा जहाज आवतजावतमा लगाइएका प्रतिबन्ध हटाइनेछ भने अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी र केही तेल प्रतिबन्ध पनि फुकुवा गर्नेछ ।

सम्झौता स्वीकृत भएमा फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वपछि शान्तितर्फको सबैभन्दा ठूलो प्रगति हुने विश्वास गरिएको छ । यद्यपि इरानी सरकारी समाचार संस्था तस्निमले सम्झौताको पाठ अझै अन्तिम रूपमै नपुगेको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ता सकारात्मक दिशामा रहेको बताएका छन् । उनले सम्झौता नजिक पुगेको संकेत गरे पनि अन्तिम निष्कर्षमा पुग्न अझै काम बाँकी रहेको बताएका छन् ।

सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । होर्मुज जलडमरूमध्य विश्वको प्रमुख तेल तथा ग्यास आपूर्ति मार्गमध्ये एक मानिन्छ ।

यसबीच अमेरिकी सेनाले इरानका पाँच ड्रोन खसालेको तथा बन्दर अब्बासस्थित एक नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ । कुवेतले पनि आफ्नो दिशातर्फ प्रहार गरिएको ब्यालिस्टिक मिसाइल अवरोध गरेको जानकारी दिएको छ ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सले अमेरिकी सैन्य गतिविधिको प्रतिकार गरिएको दाबी गर्दै पुनः आक्रमण भए कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

दुवै देशबीचको तनाव जारी रहँदा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले आफ्ना विदेशमन्त्री इशाक डारले अमेरिकी विदेशमन्त्री रुबियोसँग भेट गर्ने जनाएको छ ।

इरानले प्रतिबन्ध हटाउन, रोकिएका सम्पत्ति फुकुवा गर्न तथा अमेरिकी सेना क्षेत्रबाट फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम अन्त्य गर्नुपर्ने अडान दोहोर्याएको छ ।