काठमाडौं । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिको लागि आवेदन मागेको छ । परराष्ट्रले ‘ट्रम्स अफ रिफरेन्स एम्बेस्डर अफ नेपाल’ जारी गर्दै राजदूतको लागि आवेदन खुला गरेको हो । राजदूतको लागि आवेदन दिने अन्तिम जेठ २२ गतेसम्म तोकिएको छ । नेपालको इतिहासमा पहिलोपटक राजदूत नियुक्तिको लागि खुला दरखास्त आह्वान गरिएको हो ।
परराष्ट्रले चीन, अमेरिका, भारतलगायत १३ देशमा राजदूत नियुक्ति गर्न आवेदन माग गरेको छ । राजदूत हुनको लागि १५ वटा न्यूनतम योग्यता निर्धारण गरिएको छ । योग्यतामा राजदूतको लागि आवेदन दिने व्यक्ति कम्तीमा ३५ वर्षको नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक उपाधि हासिलपश गरेको हुनुपर्ने छ ।
त्यस्तै भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त नभएको र भ्रष्टाचार वा नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको हुनुपर्ने, कुनै पनि विदेशी राष्ट्रको स्थायी वा अस्थायी आवासीय अनुमतिपत्र (पीआर वा ग्रीनकार्ड) नलिएको हुनुपर्ने, नेपालको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध वा कूटनीतिक क्षेत्रमा अनुभव भएको र अंग्रेजी भाषाको राम्रो ज्ञान भएको हुनुपर्ने, प्रस्तावित मुलुकमा कुनै प्रकारको स्वार्थ नबाझिएको र अन्तर्राष्ट्रिय वा विदेशी सहायताबाट सञ्चालित गैरसरकारी संस्थामा हाल कार्यरत नरहेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै यसअघि विदेशी राष्ट्रको तलब खाने पदमा नियुक्त भएको भए उक्त पद छाडेको कम्तीमा १० वर्ष पूरा भएको हुनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर गरेको, कूटनीतिक वा उच्च सरकारी तथा कर्पोरेट तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, र प्रस्तावित देशको भाषा जानेका उम्मेदवारलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया