क्वाडलाई चीनको चेतावनी


बेइजिङ । पूर्वी र दक्षिण चीन सागर क्षेत्रमा बढ्दो तनाव र स्थिरताबारे क्वाड समूहका विदेशमन्त्रीहरूले व्यक्त गरेको चिन्तापछि चीनले बुधबार कडा प्रतिक्रिया जनाउँदै ‘गुट निर्माण’ र द्वन्द्व भड्काउने गतिविधि स्वीकार्य नहुने चेतावनी दिएको छ।

संयुक्त राज्य अमेरिका, भारत, जापान र अस्ट्रेलियाका विदेशमन्त्रीहरू सहभागी क्वाड बैठक मङ्गलबार नयाँदिल्लीमा सम्पन्न भएको थियो। सो बैठकपछि जारी संयुक्त वक्तव्यमा यस क्षेत्रमा देखिएका ‘अस्थिर वा एकपक्षीय गतिविधिहरू’ प्रति चिन्ता व्यक्त गर्दै ती गतिविधिहरूले क्षेत्रीय स्थिरतामा जोखिम बढाइरहेको उल्लेख गरिएको थियो। साथै, मन्त्रीहरूले सैन्य विमानहरूद्वारा हुने जोखिमपूर्ण चालचलन र दक्षिण चीन सागरमा अवरोध तथा आक्रमणका घटनाप्रति आलोचना गरेका थिए।

चीनले क्वाडको सो अभिव्यक्तिलाई अस्वीकार गर्दै आफ्नो समुद्री क्षेत्रमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पत्रकार सम्मेलनमा पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्था समग्र रूपमा स्थिर रहेको दाबी गरे।

उनले सम्बन्धित देशहरूलाई चीनसँग जोडिएका समुद्री मामिलामा हस्तक्षेप नगर्न र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्ने प्रयासलाई सम्मान गर्न आग्रह गरे। उहाँका अनुसार गुट निर्माण गर्ने, तनाव बढाउने र द्वन्द्व भड्काउने गतिविधि अन्तर्राष्ट्रिय रूपमा अलोकप्रिय छन्।

क्वाड समूहलाई चीनले लामो समयदेखि शङ्कास्पद दृष्टिले हेर्दै आएको छ, किनभने बेइजिङले रणनीतिक रूपमा महत्त्वपूर्ण पूर्वी र दक्षिण चीन सागरका केही भूभागमा आफ्नो दाबी गर्दै आएको छ। यता फिलिपिन्स, जापान लगायतका देशहरूसँग ती जलक्षेत्रलाई लिएर निरन्तर विवाद जारी छ, जहाँ विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्गहरू पनि अवस्थित छन्।

विश्लेषकहरूका अनुसार क्वाड र चीनबीचको यो कूटनीतिक शब्दयुद्धले क्षेत्रीय सुरक्षा संरचना र समुद्री अधिकारसम्बन्धी विवादलाई थप जटिल बनाउने सङ्केत देखिएको छ।