काठमाडौँ । नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डल दुईदिने उच्चस्तरीय भ्रमणमा नेपाल आएको छ ।
प्रतिनिधिमण्डलमा ईयू सदस्य राष्ट्रहरूका २२ जना राजदूत तथा उप–मिशन प्रमुख सहभागी छन् । भ्रमणको उद्देश्य बालेन साह नेतृत्वको सरकारसँग भेटघाट गर्नुका साथै नेपाल–ईयू सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको बताइएको छ ।
प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उप–राजदूतहरू सहभागी छन् ।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले मंगलबार प्रधानमन्त्री बालेन साह भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसअघि सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग पनि छलफल हुने जनाइएको छ ।
प्रतिनिधिमण्डलले निजी क्षेत्र, नागरिक समाज र युवा नेतृत्वसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । ईयू राजदूत लोरेन्जोले नेपालप्रति ईयूको प्रतिबद्धता पुनः पुष्टि गर्न भ्रमण केन्द्रित रहेको बताएकी छन् ।
उनले व्यापार, लगानी, जलवायु कार्यवाही तथा बहुपक्षीय मुद्दामा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुने जानकारी दिइन् । ईयू नेपालका प्रमुख अन्तर्राष्ट्रिय साझेदारहरूमध्ये एक हो । ईयू र उसका सदस्य राष्ट्रहरूले आर्थिक वृद्धि, लोकतान्त्रिक सुशासन, शिक्षा तथा दिगो विकासका क्षेत्रमा नेपालसँग सहकार्य गर्दै आएका छन् ।

प्रतिक्रिया