क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन कांग्रेसले सातै प्रदेशमा खटायो केन्द्रीय नेता


काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई गति दिन सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाउने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सातै प्रदेशमा कमाण्डर पठाउने निर्णय गरेको हो । बैठकले कोसीमा डा. डिला संग्रौला, मधेसमा देवराज चालिसे, बागमतीमा बहादुरसिंह लामा, गण्डकीमा मुक्ताकुमारी यादव, लुम्बिनीमा अमरसिंह पुन, कर्णालीमा जानकी सिंह र सुदूरपश्चिममा उदय शमशेर राणालाई खटाएको छ ।

उनीहरूलाई विशेष जिम्मेवारीसहित प्रदेशमा खटाइएको कांग्रेसका कार्यवाहक कार्यालय सचिव कृष्णप्रसाद दुललाले जनाएका छन्।

त्यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा समायोजन भएका व्यक्तिहरुका हकमा सदस्यता सम्वन्धि समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिको तर्फबाट डा. गोपाल दहित, आङ्गेलु शेर्पा, अब्दुल सत्तार, राजीव ढुंगाना, कुसुम थापा, देवप्रसाद तिमिल्सिना, तिलक रानाभाट, प्रमोदहरि गुरागाईँ, टेकराज पौडेल, जगदीश नरसिंह केसी, कमलकिशोर घिमिरे, कृष्ण रिजाल र ईश्वर अधिकारीलाई खटाउने निर्णय गरेको छ ।

त्यस्तै जनसम्पर्क समितिको हकमा अधिवेशन सम्पन्न भइसकेका ७ देशको जनसम्पर्क समितिको सम्वन्धमा क्रियाशील अद्यावधिक प्रकृयाका लागि अनुमति दिने, क्रियाशील सदस्यता सम्वन्धि समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समय तालिका केन्द्रीय कार्यालयमा पेश गर्न परिपत्र गर्ने निर्णय बैठकले गरेको छ ।

१४ औं महाधिवेशन पश्चात विविध कारणले केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका ७ देशका जनसम्पर्क समितिको हकमा सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने, क्रियाशील सदस्यता सम्वन्धि समस्या भएका ८ देशका जनसम्पर्क समितिका हकमा अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने बैठकले निर्णय गरेको छ । बैठकले  नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।