बाजुरा र हुम्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गर्न समिति गठन


काठमाडौँ । सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा एक समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आइतबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट एक–एक जना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै, नापी विभागका निर्देशकलाई समितिको सदस्य–सचिवको जिम्मेवारी दिइएको छ।

हुम्लाको खर्पुनाथ गाउँपालिका–२ थाली र लाम्पाटाका बासिन्दाबीच रानीसैन क्षेत्रको सीमाका विषयमा त्यसअघि पनि लामो समयदेखि विवाद कायम थियो । यो विषयलाई लिएर केही दिनअघि दुई पक्षबीच झडपसमेत भएको थियो । झडपमा परी १७ जना घाइते भएका छन् ।