बारामा रास्वपाको विस्तारित बैठकमा आफ्नै कार्यकर्ताको विरोध, चार सांसदमाथि हातपात प्रयास


बारा । राष्ट्रिय स्वतन्त्र पार्टीको बारामा आयोजित विस्तारित बैठकमा तनाव भएको छ । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीबाट निस्कासित गरेको विषयलाई लिएर असन्तुष्ट कार्यकर्ताहरूले सांसदहरूविरुद्ध प्रदर्शन गरेपछि बैठकमा तनाव भएको हो । तनावका कारण झडपको स्थिति उत्पन्न भएपछि प्रहरीले चार जना सांसदहरूलाई उद्दार गरेको थियो ।

बारा रास्वपाका पूर्वसभापति स्वर्णकारलाई जिल्लाबाट निर्वाचित चारै जना सांसदले कारबाही गर्न केन्द्रमा लिखित पत्र पठाएपछि यो विवाद सुरु भएको हो । सांसदहरूले चुनावका बेला स्वर्णकारले विपक्षी दलका उम्मेदवारलाई सहयोग गरेको भन्दै कारबाहीका लागि केन्द्रमा कारबाहीका लागि सिफारिस गरेका थिए ।

सिफारिसका आधारमा स्वर्णकारको पार्टी सदस्यतासमेत खारेज गरेपछि रास्वपामा विवाद बढेको छ । यही विषयलाई लिएर शनिबार विस्तारित बैठकमा सहभागी हुन पुगेका सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास भएको हो ।