काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरूलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०८२-८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो ।
स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडेलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् ।
सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ ।
यही जेठ १ गते काठमाडौँ उपत्यकाका अवैध तथा शंकास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ ।
वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाई कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृतरूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो ।
शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणको लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले शुद्धिकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया