सुरुङ्गा । जिल्ला कारागार झापामा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।
पाँचथरको साविक नागी गाविस–९ घर भएका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका घिमिरेलाई जेठ ७ गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सोही रात ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।
अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार भइरहेका बेला स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको थियो । उपचारकै क्रममा आज बिहान ३ः४५ बजे उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए । मृतकको शव बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया