लन्डन । बेलायतका पूर्वराजकुमार एन्ड्र्युसँग जोडिएका नयाँ यौन दुव्र्यवहारका आरोपहरूबारे अनुसन्धान गर्न तयार रहेको बेलायती प्रहरीले स्पष्ट पारेको छ । यो सगैं राजा चाल्र्स तृतीयका भाइसँग सम्बन्धित पहिले नै विवादित मुद्दालाई अझ व्यापक बनाएको छ।
राजपरिवारकी दिवङ्गत महारानी एलिजाबेथ द्वितीयका तीन सन्तानमध्ये दोस्रो राजकुमार एन्ड्र्युलाई फेब्रुअरीको मध्यतिर अर्बपति अमेरिकी यौन अपराधी जेफ्री एपस्टेनसँगको सम्बन्धसँग जोडिएका नयाँ खुलासापछि थप कानूनी दबाबमा ल्याइएको थियो।
थेम्स भ्याली प्रहरीका अनुसन्धान अधिकृतहरूले शुक्रबार एक महिलालाई सन् २०१० मा लन्डनको उत्तरमा रहेको विन्डसर सहरमा ‘यौन उद्देश्यका लागि’ लगिएको भन्ने रिपोर्टपछि सम्भावित पीडितका कानूनी प्रतिनिधिसँग सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार उनीहरूको मुख्य अनुसन्धान हाल एन्ड्र्युले सार्वजनिक पदमा रहँदा गरेको कथित दुरुपयोगसँग सम्बन्धित विषयमा केन्द्रित भए पनि नयाँ उजुरीहरू आएमा त्यसलाई पनि गम्भीरताका साथ हेर्ने बताएका छन् । उक्त अनुसन्धान टोलीले संयुक्त राज्य अमेरिकामा पारित एपस्टेन फाइल ट्रान्सपरेन्सी ऐनअन्तर्गत सार्वजनिक गरिएका विवरणहरू आएपछि कथित घटनाका विभिन्न पक्षहरूबारे थप मूल्याङ्कन भइरहेको बताएको छ।
यसैबीच प्रहरीले सार्वजनिक कार्यालयमा भएको कथित दुरुपयोगको अनुसन्धानसँगै सन् २०१० को एक अलग घटनाबारे पनि प्रारम्भिक मूल्याङ्कन भइरहेको जनाएको छ। उक्त घटनामा एक महिलालाई विन्डसरस्थित ठेगानामा यौन उद्देश्यका लागि लगिएको दाबी गरिएको छ।
प्रहरीको विज्ञप्तिमा सम्बन्धित महिलाले औपचारिक रूपमा उजुरी दिन चाहे त्यसलाई गम्भीरताका साथ लिइने र उनको गोपनीयता, संवेदनशीलता तथा नाम गोप्य राख्ने अधिकारको पूर्ण सम्मान गरिने उल्लेख छ। अनुसन्धान अधिकृतहरूले यस्ता घटनासम्बन्धी कुनै पनि जानकारी भएका व्यक्तिहरूलाई अगाडि आउन पुनः आह्वान गरेका छन्।
यसअघि फेब्रुअरीमा भएको गिरफ्तारीपछि एन्ड्र्युलाई सन् २००१ देखि २०११ सम्म बेलायतको व्यापार दूतका रूपमा विभिन्न देशमा यात्रा गर्दा सार्वजनिक पदको दुरुपयोग गरेको आशङ्कामा घन्टौँ सोधपुछ गरिएको थियो।
एन्ड्र्युले भने आफूले कुनै पनि गलत काम नगरेको दाबी गर्दै आएका छन् । हालसम्म उनीमाथि औपचारिक अभियोग लगाइएको छैन, तर उनी प्रहरीको निगरानीमा छन् ।
सन् २०१९ मा जेलमै मृत्यु भएका एपस्टेनसँगको सम्बन्धका कारण उत्पन्न विवाद चर्किएपछि बेलायती राजाले गत अक्टोबरमा उनको शाही उपाधि खोेसिनुको साथै विन्डसरस्थित रोयल लजबाट हटाइँदै पूर्वी नोरफोकको स्यान्ड्रिङ्घम एस्टेटमा स्थानान्तरण गरिएको थियो।

प्रतिक्रिया