ओलीलाई गुरुङको प्रश्नः एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ?


काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी पुनर्गठनको दबाब परेको छ । निर्वाचनमा पार्टीको सर्मनाक पराजय भएपछि नेताहरुले अध्यक्ष ओलीलाई पार्टी पुनर्गठनको दबाब दिएका हुन् ।

बैठकमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष ओलीप्रति आक्रोश पोखेका थिए । अध्यक्ष ओलीले पार्टी पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुने बताएपछि गुरूङले प्रतिवाद गरेका हुन् ।

उपाध्यक्ष गुरुङले ओलीलाई पार्टी तपाईँको प्राइभेट कम्पनी हो भन्दै प्रतिवाद गरेका थिए । उनले भने, ‘एमाले तपाईंले मात्रै बनाएको पार्टी हो ? एमाले तपाईंको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन ?’ त्यसक्रममा ओली र गुरुङबीच भनाभनसमेत भएको थियो ।

बैठकमा अर्का उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनुपर्ने र पार्टी पुनर्गठन गर्नुपर्ने बताएका थिए । उनेल कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने बताएका थिए । सचिवालय बैठक शनिबार बिहान ११ः३० बजे ओली निवास गुण्डुमै बस्नेछ।