दुर्गा प्रसाईँ पक्राउका विषयमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । बुधबार न्यायाधीश महेश शर्मा पौडेलको इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

प्रसाईंको तर्फबाट अधिवक्ता आशिष लुईंटेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न सोमबार साँझ वीरगञ्जबाट पक्राउ गरेको थियो । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयलाई अनुसन्धानको फाइल समेत ल्याउन आदेश दिएको छ ।