बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको आग्रहपछि इरानमाथि मंगलबारका लागि तय गरिएको नयाँ सैन्य आक्रमण स्थगित गरेको बताएका छन् । उनले ‘गम्भीर वार्ता भइरहेको’ भन्दै तत्काल आक्रमण नगर्ने निर्णय गरिएको जनाएका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कतार, साउदी अरेयिबा, यूएईकाा नेताहरूको आग्रहपछि आक्रमण रोकिएको बताएका छन् । उनले अमेरिकालाई ‘स्वीकार्य हुने’ सम्झौता हुन लागेको दाबी गर्दै ‘इरानसँग कुनै पनि हालतमा परमाणु हतियार हुने छैन’ भनेका छन् ।
तर उनले स्वीकार्य सम्झौता नभए अमेरिकाले ‘जुनसुकै बेला पूर्ण र ठूलो स्तरको आक्रमण’ गर्न तयार रहेको चेतावनी पनि दिएका छन् ।
यसैबीच, एक वरिष्ठ इरानी सैन्य कमाण्डरले अमेरिकालाई ‘रणनीतिक गल्ती र गलत आँकलन नगर्न’ चेतावनी दिएका छन् ।
इरानसम्बन्धी ट्रम्पको पछिल्लो अभिव्यक्ति यस्तो समयमा आएको हो, जतिबेला अमेरिकामा युद्धप्रति असन्तुष्टि बढ्दै गएको छ । न्यूयोर्क टाइम्स/सिएना कलेजले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार ६४ प्रतिशत मतदाताले इरानविरुद्ध युद्ध गर्नु गलत निर्णय भएको बताएका छन् ।
इरानले अमेरिकी प्रस्तावको जवाफ दिइसकेको र पाकिस्तानमार्फत वार्ता जारी रहेको जनाएको छ । तस्निम समाचार एजेन्सीका अनुसार इरानले युद्ध अन्त्य, अमेरिकी नाकाबन्दी हटाउने तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।
उता अमेरिकाले इरानलाई एउटा मात्र परमाणु केन्द्र सञ्चालनमा राख्न र उच्चस्तरमा प्रशोधित युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त अघि सारेको बताइएको छ ।

प्रतिक्रिया