‘हामीले ग्रिनल्याण्डका जनता बिक्रीका लागि होइनन् भनेर वार्तामा स्पष्ट रूपमा दोहोर्याएका छौँ’


ग्रिनल्याण्ड । ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सन ग्रिनल्याण्डप्रति अमेरिकाको दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका छन् । निल्सनले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतसँगको भेटवार्ता पछि ग्रिनल्याण्डलाई हेर्ने अमेरिकी दृष्टिकोणमा कुनै परिवर्तन नआएको बताएका हुन् ।

प्रधानमन्त्री निल्सनले अमेरिकी कुटनीतिज्ञ जेफ ल्यान्ड्रीसँगको भेटलाई ‘रचनात्मक’ बताएपनि अमेरिकी दृष्टिकोणमा परिवर्तन नआएका कारण कुनै ठूलो उपलब्धिको अपेक्षा नगरिएको बताए ।

प्रधानमन्त्री निल्सनले एक पत्रकार सम्मेलनमा भने, ‘यो एक रचनात्मक बैठक थियो, जहाँ सकारात्मक भावना र ठूलो सम्मानका साथ संवादमा हामी संलग्न हुन सफल भयौँ ।’

उनले अगाडि भने, ‘हामीले ग्रिनल्याण्डका जनता बिक्रीका लागि होइनन् र ग्रिनल्याण्डवासीलाई आत्मनिर्णयको अधिकार छ भनेर वार्तामा स्पष्ट रूपमा दोहोर्याएका छौँ ।’

ल्यान्ड्रीको भ्रमण यस क्षेत्रमा ट्रम्पको बारम्बार दाबीको बारेमा ट्रान्सएटलान्टिक तनाव केही हदसम्म कम भएको तर नहटेको समयमा भएको छ । ग्रिनल्याण्डका विदेशमन्त्री म्युट एगडेले पनि उक्त भूमि अधिग्रहण गर्ने आफ्नो लक्ष्यलाई अमेरिकाले नछोडेको बैठकपछि पत्रकारहरूसँग बताए ।

उनले भने, ‘हामीसँग हाम्रो सीमारेखा छ। अमेरिकीहरूको शुरुवात बिन्दु पनि परिवर्तन भएको छैन।’ गत जनवरीमा डेनमार्क र नेटोका अन्य सहयोगीहरूले भीषण प्रतिरोध प्रदर्शन गरेपछि ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्ने धम्कीबाट पछि हटेका थिए ।
त्यसपछि कोपेनहेगन र नुकका अधिकारीहरूले वाशिङ्गटनमा गरेको पहिलो बैठक गरिएको थियो त्यसपछि अमेरिकी स्थितिबारे छलफल गर्न ग्रिनल्याण्डले एक कार्यदल गठन गरेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार राष्ट्रिय सुरक्षाको चासोका कारण अमेरिकाले ग्रिनल्याण्डलाई नियन्त्रण गर्न आवश्यक रहेको तर्क गर्दै आएका छन् । उनको तर्क रहेको छ, ‘यदि अमेरिकाले आर्कटिक टापु (ग्रिनल्याण्ड) कब्जा गरेन भने त्यो चीन वा रुसको हातमा पर्न सक्नेछ।

ग्रिनल्याण्डका लागि अमेरिकी विशेष दूतका रुपमा लुजियानाका गभर्नर ल्यान्ड्री पहिलो पटक आइतबार यहाँ आएका हुन् । उनले मङ्गलबार र बुधबार ग्रिनल्याण्डको राजधानीमा हुने आर्थिक मञ्चमा भाग लिने कार्यक्रम छ ।