केन्द्रीय कारागारबाट भागेकी महिला कैदी पक्राउ


काठमाडौं । काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेकी कैदी सपना तामाङ पक्राउ परेकी छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको न्युरोडबाट गएराति तामाङलाई पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले तामाङसहित उनलाई भाग्न सहयोग गर्ने समिर श्रेष्ठलाई समेत पक्राउ गरिएको जानकारी दिए । शनिबार बिहान साढे १ बजे उनी कारागारको पर्खाल नाघेर भागेकी थिइन् ।

६ वर्षीया बालिकाको अपहरण र हत्या गरेको अभियोगमा उनी जन्मकैदको सजाय भोगिरहेकी थिइन् । यसअघि जेनजी आन्दोलनको बेलामा पनि फरार भएकी उनी २ महिनापछि पक्राउ परेकी थिइन् ।