जेरुसलेम । हमासको सशस्त्र शाखाका प्रमुख एजेदिन अल–हद्दादको शुक्रबार गाजामा इजरायलले गरेको आक्रमणमा मृत्यु भएको इजरायली सेनाले पुष्टि गरेको छ । अल–हद्दादलाई इजरायलले सन् २०२३ अक्टोबर ७ मा भएको आक्रमणको सूत्रधार भएको बताएको छ ।
प्यालेस्टिनी सशस्त्र इस्लामिक लडाकू समूह हमासले पनि अल–हद्दादको इजरायली आक्रमणबाट मृत्यु भएको शनिबार पुष्टि गरेको छ । हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि इजरायली सेना र गुप्तचर सेवाहरूले गाजा र यस क्षेत्रका समूहका वरिष्ठ राजनीतिक नेता तथा लडाकु कमान्डरलाई लक्षित गर्दै व्यापक अभियान चलाएका छन् ।
शुक्रबार सेनाले गाजामा अल–हद्दादलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो भने उनको मृत्यु भएको पुष्टि शनिबार गरेको हो । सेनाले आफू र शिन बेट घरेलु सुरक्षा निकायलाई सङ्केत गर्दै भनेको छ, “इजरायली रक्षा बल (आइडिएफ) र इजरायली सुरक्षा निकाय (आइएसए) ले शुक्रबार गाजाको सहरी क्षेत्रमा गरेको एक सटीक आक्रमणमा हमासको सशस्त्र शाखाका प्रमुख अल–हद्दादको मृत्यु भएको छ ।”
हमासका दुई अधिकारीले पनि हद्दाद इजरायली आक्रमणमा मारिएको पुष्टि गरेका छन् । हमासका एक वरिष्ठ अधिकारीले भने, “गाजा सहरमा एक आवासीय अपार्टमेन्ट र एक नागरिक गाडीलाई लक्षित गरी इजरायलले गरेको आक्रमणमा एजेदिन अल–हद्दादले शाहदत प्राप्त गरेका छन् ।”
हमासको सशस्त्र शाखाका अर्का एक सदस्यले पनि उनको मृत्युको पुष्टि गरेका छन् । हमास निकट स्रोतका अनुसार हद्दाद, उनकी श्रीमती र एक छोरीको इजरायली आक्रमणमा मृत्यु भएको थियो । एएफपीका तस्वीरमा शोकाकुल व्यक्तिहरूले हमासको झन्डाले बेरिएको हद्दादको शव भवनको भग्नावशेषबाट उठाएर स्ट्रेचरमा बोकेको देखाइएको छ ।
इजरायली सेनाले अक्टोबर ७ को नरसंहारको योजना र कार्यान्वयनको निर्देशन दिएका हद्दाद हमासको सैन्य शाखाका अन्तिम वरिष्ठ कमान्डरमध्ये एक भएको बताएको छ ।
युद्धका क्रममा बन्धक इजरायलीलाई लुकाएर राख्ने र ठाउँ सार्ने व्यवस्थामा पनि हद्दाद संलग्न रहेको बताइएको छ । “हद्दादले हमासको बन्धक बन्दी प्रणालीको व्यवस्थापन गरेका र बन्धकलाई ढाल बनाएर पटक–पटक आफ्नो जीवन जोगाउन सफल भएका थिए,” विज्ञप्तिमा भनिएको छ । इजरायलका सेना प्रमुख लेफ्टिनेन्ट कर्णेल इयाल जमिरले उक्त कारबाहीलाई ‘महत्वपूर्ण उपलब्धि’ भनेका छन् ।
“मैले फिर्ता भएका बन्धकसँग गरेको प्रत्येक कुराकानीमा बारम्बार अल–हद्दादको नाम आउने गरेको थियो,” जमिरले भने । उनले भने, “आज हामी अल–हद्दादलाई हटाउन सफल भयौँ । आइडिएफले शत्रुहरूलाई पछ्याउने काम जारी राख्नेछ, उनीहरूलाई आक्रमण गर्नेछ र अक्टोबर ७ को नरसंहारमा भाग लिने सबैलाई जवाफदेही बनाउनेछ ।” इजरायलले अक्टोबर ७ को आक्रमणका प्रमुख योजनाकार मानिने याह्या सिनवारसहित धेरै हमास नेताको युद्धका क्रममा मृत्यु भएको आक्रमणको जिम्मेवारी लिएको छ ।

प्रतिक्रिया