नेताहरुलाई घेराबन्दीमा पार्ने र विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्न खोजियोः पूर्णबहादुर खड्का


सुर्खेत । नेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए ।

भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिवेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।

उनले भने, ‘इतिहासमै नेपाली काँग्रेस पहिलो पटक लज्जास्पद हार व्यहोर्नुपरेको छ । चुनावको मुखमा गरिएको विशेष महाधिवेशनले पार्टीलाई ऊर्जा दिन सकेन ।’ हार बेहोरे पनि नेतृत्व अझै पार्टी एकताको पक्षमा गम्भीर नभएको खड्काको आरोप छ । पार्टी एकताको पहल नेतृत्वबाट हुनुपर्नेमा नेतृत्व विभाजनतिर अग्रसर भएको उनको भनाइ छ ।

‘नेतृत्व एकताको भन्दापनि टिम विभाजनतर्फ लागेको देखियो’ उनले भने, ‘यसले पार्टी एकतालाई बल पुर्याउँदैन ।’ नेताहरुलाई घेराबन्दीमा पार्ने र विशेषको नाममा पार्टी कब्जा गर्न उद्दत रहेको उनले बताए । क्रियाशील अद्यावधिकको नाममा सदस्यहरुलाई पार्टीबाट लखेट्न खोजिएको उनको आरोप छ ।

डिजिटलाइजेसन र आधुनिकताको नाममा पार्टीमा लामो समय योगदान दिएका नेता कार्यकर्तालाई अपमानजनक रुपमा लखेट्न खोजिएको उनले बताए ।

पार्टी अफ्ठ्यारो अवस्थामा पुगेकोले सबै तहका नेता कार्यकर्ताको सुझाव लिन आफूले सबै प्रदेशमा भेला आयोजना गरिएको र तल्लो तहबाट आएको सुझावका आधारमा आफ्नो समूहले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

पार्टीमा लागेर आफुले पाउनुपर्ने सबै पद र अवसर प्राप्त गरिसकेकाले आफूले बाँकी पुस्ताको राजनीतिक भविष्यका लड्ने उनले बताए । भेलामा देउवा समूहका नेता कार्यकर्ताहरुको सहभागिता छ । संस्थापन समूहले भने भेला बहिष्कार गरेको छ ।