राहुल क्याष्ट्रोविरुद्ध मुद्दा दायर गर्ने अमेरिकी तयारीले दुई देशबीच तनाब थप बढ्ने संकेत


रोयटर्स । दुई दशकअघि मानवीय सहायता सम्बन्धी विमान खसालिएको घटनामा क्युबाका पूर्वराष्ट्रति राहुल क्याष्ट्रोविरुद्ध अभियोग दायर गर्ने अमेरिकी योजनाले क्युबामा तनाव बढाएको छ। गम्भीर इन्धन अभावबीच क्युबा पछिल्ला दशककै सबैभन्दा खराब संकटसँग जुधिरहेका बेला यस्तो कदमले स्थिति थप संवेदनशील बनेको विश्लेषण गरिएको छ।

९४ वर्षीय क्रान्तिकारी नेताविरुद्ध अभियोग दायर भएमा यो डोनाल्ड ट्रम्प प्रशासनले क्युबामाथि चलाइरहेको दबाब अभियानको ठूलो तनाब बढ्ने बताइएको छ। ट्रम्प प्रशासनले क्युबाको कम्युनिस्ट सरकारलाई भ्रष्ट र अक्षम भन्दै परिवर्तनका लागि दबाब बढाउँदै आएको छ।

क्युबाले अभियोगको सम्भावनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि विदेशमन्त्री ब्रुनो रोड्रिगेजले चुनौतीपूर्ण अभिव्यक्ति दिएका छन्।
ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा उनले भने, ‘अमेरिकी नाकाबन्दी, प्रतिबन्ध र बल प्रयोगको धम्कीका बाबजुद क्युबा आफ्नो समाजवादी विकास र सार्वभौमिकताको मार्गमा अघि बढिरहेको छ।’

रोयटर्ससँग कुरा गरेका हाभानाका बासिन्दाले यस्तो अभियोगले अमेरिका–क्युबा वार्तालाई झन् पछाडि धकेल्ने र दुई देशबीचको कूटनीतिक संकट गहिरिने बताएका छन्। हाभानाकी ५९ वर्षीया शिक्षिका सोनिया टोरेसले संकटका बेला क्याष्ट्रोमाथि मुद्दा चलाउने प्रयासलाई क्युबाली स्वाभिमानमाथिको प्रहार भएको बताइन् । उनले भनिन्, ‘यदि राउलमाथि मुद्दा चलाउन खोजियो भने हामी क्युबाको रक्षा गर्न तयार छौं।’

अमेरिका र क्युबाबीचको तनाव सन् १९५९ मा फिडेल क्याष्ट्रो नेतृत्वको कम्युनिस्ट क्रान्तिपछि सुरु भएको हो । त्यसपछि अमेरिकी स्वामित्वका सम्पत्ति राष्ट्रियकरण गरिएपछि दुई देशबीच दशकौँदेखि तनाव कायम छ।

ट्रम्प प्रशासनले जनवरीयता क्युबामाथि थप प्रतिबन्ध, इन्धन आपूर्तिमा अवरोध र सैन्य कारबाहीको चेतावनी दिँदै आएको छ। यसको प्रभावस्वरूप क्यानडाली खानी कम्पनी सेरिट इन्टरनेशनललगायत विदेशी कम्पनीहरू क्युबा छोड्न बाध्य भएको जनाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयका स्रोतका अनुसार सम्भावित अभियोग सन् १९९६ मा मानवीय समूह ‘ब्रदर्स टु द रेस्क्यु’ द्वारा सञ्चालित दुई विमान खसालिएको घटनासँग सम्बन्धित छ।

त्यतिबेला क्युबाले उक्त कारबाहीलाई आफ्नो हवाई क्षेत्रको सुरक्षा भनेको थियो। तर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले ती विमान अन्तर्राष्ट्रिय जलक्षेत्रमाथि खसालिएको निष्कर्ष निकालेको थियो।

औपचारिक सरकारी भूमिकामा नरहे पनि राहुल क्याष्ट्रो अझै पनि क्युबाको सबैभन्दा प्रभावशाली जीवित नेता तथा क्रान्तिको प्रतीकका रूपमा हेरिन्छ।