स्टार्मरमाथि राजीनामाको दबाब बढ्दै, एन्डी बर्नहम सांसद बन्ने दौडमा


बीबीसी । बेलायती प्रधानमन्त्री केइर स्टार्मरमाथि नेतृत्व संकट गहिरिँदै गएका बेला एन्डी बर्नहमले सांसदका रूपमा पुनः संसद फर्किने तयारी गरेका छन् ।

स्वास्थ्य सचिव वेज स्ट्रिटिङले सरकारप्रति विश्वास गुमाएको भन्दै राजीनामा दिएपछि लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको हो । ग्रेटर म्यानचेस्टरका मेयर बर्नहमले मेकरफिल्ड क्षेत्रबाट लेबर पार्टीको उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। त्यहाँका सांसद जोस सिमोन्सले बर्नहमका लागि मार्ग खुला गर्न पद त्याग्ने घोषणा गरेका छन् ।

लेबर पार्टीको नेतृत्वका लागि हुने प्रतिस्पर्धामा उम्मेदवार बन्न सांसद हुनुपर्ने प्रावधानका कारण बर्नहमको संसद फर्किने कदमलाई भावी नेतृत्व दाबेदारीसँग जोडेर हेरिएको छ । गत साता सम्पन्न निर्वाचनमा लेबर पार्टीले कमजोर प्रदर्शन गरेपछि स्टार्मरको नेतृत्वमाथि प्रश्न उठिरहेका छन्।

यद्यपि, औपचारिक रूपमा नेतृत्व चुनौती भने सुरु भएको छैन । राजीनामा घोषणा गर्दै वेजले देशले अहिले ‘अझ साहसी दृष्टिकोण र ठूला समाधान’ खोजिरहेको बताएका छन्।

उनले सरकारको अलोकप्रियताले चुनावी नतिजामा असर परेको टिप्पणी पनि गरेका छन् । बर्नहमले संसद फर्केर ‘ग्रेटर म्यानचेस्टरमा गरिएको परिवर्तनलाई बेलायतभर विस्तार गर्ने’ लक्ष्य रहेको बताएका छन्। उनले मतदाताको विश्वास पुनः जित्न मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।