इरानी अधिकारकर्मी तथा वकिल सोतौदेह जमानतमा रिहा


पेरिस । गत महिना पक्राउ परेकी इरानी ‘जीविकोपार्जन पुरस्कार’ विजेता अधिकारकर्मी तथा वकिल नसरिन सोतौदेहलाई जमानतमा रिहा गरिएको इरानी अधिकारीहरूले जनाएका छन् ।

इजरायल र संयुक्त राज्य अमेरिकासँग इरानको युद्धसँगै इरानमा नागरिक समाजमाथि गरिएको दमनका क्रममा सोतौदेहलाई अप्रिल १ मा उनको घरबाट पक्राउ गरिएको थियो।

उनकी छोरी मेहरावेह खान्डनले इन्स्टाग्राममा लेखेकी छन्, “आमा केही घण्टाअघि अस्थायी रूपमा जमानतमा रिहा हुनुभएको छ ।”

युरोपेली संसद्बाट सन् २०१२ को सखारोभ पुरस्कार र सन् २०२० को ‘राइट लिभलिहुड अवार्ड” लगायतका पुरस्कार जितेकी सोतौदेहलाई विगतमा पनि पटक–पटक पक्राउ गरिएको थियो । उनका पति र मेहरावेका बुबा रेजा खान्डन सन् २०२४ डिसेम्बरदेखि इरानी जेलमा छन्।

अर्का इरानी अधिकारकर्मी तथा सन् २०२३ को नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई उनको स्वास्थ्य अवस्थाका कारण देखाउँदै आइतबार जमानतमा रिहा गरिएको थियो ।

सोतौदेहले विशेष गरी अपराधमा दोषी ठहरिएका युवाहरूको मृत्युदण्ड रोक्नको लागि काम गर्दै वर्षौंदेखि इरानमा सबैभन्दा संवेदनशील मानिने केही मुद्दाहरूमा अभियान चलाएकी छन् ।

उनले फिल्ममा अभिनयका कारण पनि ख्याति कमाएकी छन् । अमेरिका–इजरायलबीच फेब्रुअरी २८ देखि इरानविरुद्ध युद्ध सुरु भएयता नागरिक समाजमाथि गरिएको कारबाहीमा हजारौँ पक्राउ परेका अधिकारवादी समूहहरूले बताएका छन्।
गत जनवरीमा इरानमा भएको प्रदर्शनमा सुरक्षा फौजले प्रदर्शनलाई दबाएको कारण हजारौँको मृत्यु भएको थियो ।