काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतलले लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्न संघर्षरत कांग्रेस अहिले अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् ।
बुधबार काठमाडौंमा पार्टीको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै महतले भदौ २३ र २४ को घटनापछि नेपालमा श्रृंखलाबद्ध राजनीतिक गतिविधि भएको उल्लेख गरे । उनले नेपाली कांग्रेस नेपालको सर्वाधिक लोकप्रिय पार्टी, संविधान निर्माणमा अगुवाइ गर्ने शक्ति तथा लोकतान्त्रिक मूल्य र मान्यताको आधार भएको भए पनि अहिले चुनौतीपूर्ण अवस्थामा पुगेको बताए ।
उनले भने, ‘भदौ २३ र २४ को घटनापछि नेपालमा श्रृंखलाबद्ध क्रियाकलापहरु भए । आज नेपाली कांग्रेस पार्टी नेपालको सर्वाधिक लोकप्रिय र सत्ताको अगुवाइ गरिरहेको पार्टी, संविधान निर्माणमा अगुवाइ गरिरहेको पार्टी लोकतान्त्रिक मूल्य र मान्यतालाई स्थापना गर्नका लागि सबैले आशा र भरोसाको नजरले हेर्ने पार्टी बडो अप्ठ्यारो अवस्थामा छ । अहिले स्थापना भएको सरकारमै प्रश्न चिन्ह उठ्ने प्रवृत्ति विकसित भएको छ । यस्तो बेला नेपाली कांग्रेसको भूमिका कस्तो हुने र कसरी चल्नुपर्ने भन्ने कुरा अत्यन्त टड्कारो रुपमा पार्टीपंक्तिको बीचमा खड्किएको हामीले महसुस गरेका छौं ।’
महतले कांग्रेसको पुरानो सहमतिमूलक राजनीतिक संस्कार कमजोर हुँदा पार्टीमा समस्या आएको पनि बताए । उनले विपी कोइराला, गणेशमान सिंह जस्ता नेताहरुको समयमा सहमतिका आधारमा पार्टी सञ्चालन हुने परम्परा रहेको स्मरण गरे ।
महतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले सबैको सहभागिता र बहुसंख्यक महासमिति सदस्यको समर्थनबिना गरेको एकलौटी निर्णयले पार्टीलाई एकताबद्ध बनाउन नसक्ने टिप्पणी गरे । उनले अहिले राजनीतिक चुनौती सामना गर्न पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।
‘विशेष अधिवेशन सबैको सहभागिता नभइकन बहुसंख्यक महासमितिको सहभागिताविना नै सम्पन्न भएको हुनाले विशेष अधिवेशनबाट आएको नेतृत्वले गरेको एकलौटी निर्णयले पाटीलाई एकतावद्ध बनाएर लान सक्दैन । राजनीतिकरुपमा पाटीलाई एकतावद्धरुपमा लिएर जानु आजको आवश्यकता छ, चूनौति छन् त्यसलाई सामना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

प्रतिक्रिया