काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए ।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठकमा प्रस्तावित प्रणाली र कार्यान्वयनबारे छलफल गरिएको उनले बताए ।
ढकालले तोकिएको समयभित्र सदस्यता नवीकरण नगर्ने सदस्यहरू स्वतः सम्बन्धित पार्टी समितिको जिम्मेवारीबाट मुक्त हुने व्यवस्था लागु गरिनेछ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए ।
यसलाई सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागु गर्ने तयारी गरिएको छ। अनलाइन प्रणालीमार्फत केन्द्रीय समितिदेखि वडा तहसम्म संगठनमा आबद्ध नेताहरूको बायोडाटा संकलन तथा अभिलेखीकरण गरिनेछ।

प्रतिक्रिया