भीष्मराज आङ्देम्बे ।
सुकुम्बासी बस्तीमा डोजर चल्दै छ—यो केवल टहरा भत्काउने दृश्य मात्रै होइन, राज्यको वास्तविक चरित्र उदांगो बनेको क्षण पनि हो। आफ्नै शक्तिहीन नागरिकमाथि सरकार किन यति निर्मम रूपमा बल प्रयोग गर्दैछ ? जब शक्ति प्रदर्शन नै सरकारको प्राथमिकता बन्छ, त्यो लोकतन्त्र होइन—निरंकुशताको पराकाष्टता हो।
आज यस्तो अनुभूति हुन थालेको छ कि राज्यले आफ्ना नागरिकलाई नै ‘समस्या’को रूपमा हेर्न थालेको छ। वास्तविक सुकुम्बासी नछुट्याइ सबैलाई ‘हुकुम्बासी’को ट्याग लगाउँदै जसरी अमानवीय ढंगले उठिबास लगाइँदैछ, त्यो निन्दनीय मात्र होइन—क्रूर अन्याय हो। सेनासहितको सुरक्षा फौज परिचालन गरेर निर्धन जनतामाथि गरिएको हस्तक्षेपले राज्यको दमनकारी अनुहार छर्लङ्ग पारिदिएको छ। यस्तो व्यवहारले राज्यलाई संरक्षक होइन, त्रासको प्रतीक बनाउँछ, जबकि राज्यको मूल चरित्र त लोककल्याणकारी हुनुपर्छ।
यसका परिणामहरू भयावह बन्दै गएका छन्। नागरिकहरू चरम त्रासदीमा बाँच्न बाध्य छन्। काठमाडौंको मनोहरा बस्तीका रविन तामाङका १७ वर्षीय छोराले जीवन अन्त्य गर्नु परेको घटनाले यो पीडाको गहिराइ प्रस्ट्याउँछ। त्यस्तै, बल्खुस्थित बागमती किनारमा बस्ने ६१ वर्षीय इन्द्रबहादुर राईले पनि बिहीबार जीवन त्याग्नुपरेको दुःखद घटनाले राज्यको कठोर नीतिको मानवीय मूल्य कति भयावह छ भन्ने देखाउँछ। म मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दछु। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, असहाय तथा ज्येष्ठ नागरिकहरूको मानवीय र व्यवस्थित हेरचाह गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु। साथै, विरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्न आग्रह गर्दछु । जब नागरिकले राज्यबाट सुरक्षा होइन, डर महसुस गर्न थाल्छन्—त्यही क्षणदेखि राज्य असफलताको मार्गमा धकेलिन्छ।
म सरकारलाई सोध्न चाहन्छु, के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ ? यदि होइन भने, सुकुम्बासी व्यवस्थापनको नाममा किन यस्तो निर्दयी व्यवहार भइरहेको छ ? समस्याको समाधान डोजरले होइन, स्पष्ट नीति, मानवीय संवेदनशीलता र पारदर्शी कानुनी प्रक्रियाले मात्र सम्भव हुन्छ।
अर्को गम्भीर कुरा, सिडिओले स्थानीय तहलाई सुकुम्बासी बस्ती हटाउन निर्देशन दिने र सेनाले सुकुम्बासीहरुको लगत संकलन गर्ने कार्य सर्वथा गलत छ । सुकुम्बासीको लगत संकलनजस्तो नागरिक मामिलामा सेनालाई परिचालन गर्नु लोकतान्त्रिक मूल्यविपरीतको कदम पनि हो। के जनताले दिएको झण्डै दुई तिहाइको जनमतको प्रतिफल यही क्रूरतापूर्ण उठिबास हो ? यस्तो अमानवीय गतिविधिप्रति हामीहरु गम्भीर छौँ र यसको घोर भत्सर्नना गर्दछौँ ।यस्तो अमानवीय कदमप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ र सरकारलाई तुरुन्त यस्ता गतिविधि रोक्न अविलम्ब आग्रह गर्दछ । अन्यथाः यही खालका अमानवीय र क्रुर गतिविधि कायमै रहे यसको परिणाम गम्भीर हुनेछ ।

प्रतिक्रिया