ईयूका गाडीमा २५ प्रतिशत भन्सार बढाउने ट्रम्पको घोषणाले चर्कियो अमेरिका–इयूबीचको व्यापारिक तनाव


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघ (इयू) बाट आयात हुने गाडी तथा ट्रकमा लाग्ने भन्सार शुल्क २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। उक्त निर्णयले अमेरिका–इयूबीचको व्यापारिक तनाव थप चर्किने संकेत गरेको छ ।

ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत इयूले द्विपक्षीय व्यापार सम्झौता पालना नगरेको आरोप लगाउँदै आगामी साता नयाँ दर लागू गरिने बताएका हुन्। तर उनले सम्झौता उल्लङ्घनका ठोस आधार भने खुलाएका छैनन् ।

यसप्रति प्रतिक्रिया दिँदै युरोपिन आयोगले इयूको हित संरक्षणका लागि आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ। आयोगले इयू आफ्ना प्रतिबद्धताप्रति अडिग रहेको र अमेरिकासँग थप स्पष्टता खोजिरहेको उल्लेख गरेको छ । गाडी उद्योगलाई लक्षित गर्दै गरिएको यो निर्णय युरोपेली अर्थतन्त्रका लागि संवेदनशील मानिएको छ, किनकि अटोमोबाइल क्षेत्र इयूको प्रमुख आर्थिक आधारमध्ये एक हो।

यसअघि अमेरिका र इयूबीच स्कटल्याण्डमा भएको सम्झौताअनुसार अधिकांश युरोपेली वस्तुमा १५ प्रतिशत भन्सार कायम गरिएको थियो। सो सम्झौताले ट्रम्पले प्रस्ताव गरेका उच्च भन्सारदरबाट इयूलाई केही राहत दिएको थियो।

तर त्यसयता विभिन्न मुद्दामा दुवै पक्षबीच विवाद बढ्दै गएको छ। विशेषगरी ग्रीनल्यान्ड सम्बन्धी अमेरिकी अभिव्यक्ति र स्टिल–एल्युमिनियममा भन्सार विवादले सम्बन्धमा चिसोपना ल्याएको छ । ट्रम्पले युरोपेली अटो निर्माता कम्पनीहरूलाई अमेरिका भित्रै उत्पादन गर्न आग्रह गर्दै त्यस्तो अवस्थामा कुनै भन्सार नलाग्ने बताएका छन्।

यता युरोपेली संसदका अन्तर्राष्ट्रिय व्यापार समितिका अध्यक्ष बन्र्ड लाङेले ट्रम्पको निर्णयको आलोचना गर्दै अमेरिका विश्वसनीय व्यापार साझेदार नरहेको टिप्पणी गरेका छन्।