बेलायतमा आगामी ६ महिना आतंकवादी आक्रमणको उच्च जोखिम


बीबीसी । बेलायत सरकारले देशको आतंकवाद सम्बन्धी खतरा स्तर ‘सब्स्ट्यान्सियल’ बाट बढाएर ‘सिभियर’ अर्थात् ‘गम्भीर’ बनाएको छ । यसले आगामी छ महिनाभित्र आतंकवादी आक्रमणको उच्च जोखिम रहेको संकेत गर्दछ।

यो निर्णय बुधबार उत्तर लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा दुई यहूदी पुरुषमाथि भएको चक्कु आक्रमणपछि आएको हो, जसलाई महानगर प्रहरीले आतंकवादी घटनाका रूपमा अनुसन्धान गरिरहेको छ।

सरकारका अनुसार खतरा स्तर वृद्धि केवल उक्त घटनाको परिणाम मात्र नभई इस्लामिस्क तथा अतिवादी दक्षिणपन्थी समूहबाट बढ्दो खतराका कारण गरिएको हो।

गृहमन्त्री शबाना महमूदले यो निर्णयले विशेषगरी यहूदी समुदायमा चिन्ता बढाउने बताउँदै सरकार यहूदीविरोधी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको जनाइन्। उनले सुरक्षा व्यवस्था कडा पारिएको र संवेदनशील स्थलहरूमा प्रहरी उपस्थिति बढाइएको जानकारी दिइन्।

महानगर प्रहरीका सहायक आयुक्त लरेन्स टेलरले बेलायतमा केही समयदेखि आतंकवादी जोखिम क्रमशः बढ्दै गएको उल्लेख गर्दै यहूदी तथा इजरायली समुदाय लक्षित खतरा बढेको बताए।

घटनामा संलग्न रहेको आरोपमा ४५ वर्षीय एसा सुलेमान पक्राउ परेका छन्। उनी ३४ वर्षीय श्लोइमे रान्ड र ७६ वर्षीय मोशे शाइनमाथि हत्या प्रयास गरेको आरोपमा हिरासतमा छन्। पछिल्ला महिनाहरूमा बेलायतमा यहूदी समुदाय लक्षित आक्रमणका घटनाहरू बढ्दै गएका छन्।