नीति, कार्यक्रम र बजेट तयारीमा प्रतिपक्ष दलहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै विपक्षी दलहरुको आपत्ति


काठमाडौं । संसदका तीन विपक्षी दलले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई सम्बोधनका निम्ति राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसदको बैठकले उपभोक्तालाई राहत प्रदान गर्न अविलम्ब राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

दैनिक उपभोग्य वस्तुहरू (दाल, चामल, तरकारी, तेल) को मूल्य वृद्धिले जनताको भान्सा महँगो भएको भन्दै तत्काल महँगी नियन्त्रण गर्न र सुपथ मूल्यका पसलहरू सञ्चालन गर्न माग गरिएको छ ।

अन्तर्राष्ट्रिय द्वन्द्वका कारण रासायनिक मलको थप अभाव हुन सक्ने देखिएकाले बर्खे सिजनका लागि समयमै मलको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ।

झापा, मोरङ, सुनसरी, चितवन र काठमाडौँमा फैलिएको बर्डफ्लुका कारण क्षति बेहोरेका किसानहरूलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयारीमा प्रतिपक्ष दलहरूलाई पूर्ण रूपमा बेवास्ता गरिएको भन्दै सबै पक्षको आवाज सुनिने गरी पारदर्शी र लोकतान्त्रिक तरिका अपनाउन माग गरिएको छ।

बैठकले काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा रहेका सुकुम्वासी र अव्यवस्थित बसोवासीहरूलाई उचित विकल्प र पहिचानबिना हटाउन लागिएको भन्दै आपत्ति जनाएको छ । नागरिकको आवासको हक सुनिश्चित गर्दै सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना थापा र नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलालको सहभागिता रहेको थियो।