इरान युद्धमा अमेरिकाको २५ अर्ब डलर खर्च


रोयटर्स । पेन्टागनका एक वरिष्ठ अधिकारीले अमेरिकाले इरानविरुद्धको युद्धमा हालसम्म २५ अर्ब अमेरिकी डलर खर्च गरेको बताएका छन् । पेन्टागनका कार्यवाहक वित्त प्रमुख जुलेस हस्र्टले अधिकांश खर्च हतियार तथा युद्ध सामग्रीमा भएको जानकारी दिए । तर उनले यो रकममा के–के समेटिएको छ भन्नेबारे विस्तृत खुलाएनन् ।

मध्यावधि निर्वाचन आउन केही महिना मात्रै बाँकी रहँदा रिपब्लिकनहरूलाई प्रतिनिधिसभामा बहुमत जोगाउन चुनौती देखिएको छ। डेमोक्र्याटहरूले भने इरान युद्धलाई महँगीसँग जोड्दै राजनीतिक मुद्दा बनाइरहेका छन् ।

समितिका शीर्ष डेमोक्र्याट आदम स्मिथले लामो समयदेखि लागत विवरण माग्दै आएको भन्दै ढिलो गरी जानकारी आएको टिप्पणी गरे । २५ अर्ब डलर रकम यस वर्षको नासाको कुल बजेट बराबर रहेको बताइएको छ ।

रक्षा मन्त्री पेट हेगसेथले इरानलाई परमाणु हतियार हासिल गर्न नदिनु प्रमुख लक्ष्य भएकाले यस्तो खर्च उचित भएको बताएका छन् । उनले युद्धको आलोचना गर्ने डेमोक्र्याटहरूमाथि पनि कडा टिप्पणी गरेका छन्।

अमेरिकाले फेब्रुअरी २८ देखि इरानमाथि आक्रमण सुरु गरेको थियो र हाल दुवै पक्षबीच युद्धविराम कायम छ। पेन्टागनले मध्यपूर्व क्षेत्रमा हजारौँ अतिरिक्त सैनिक तैनाथ गरेको छ। यस द्वन्द्वमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। युद्धका कारण तेल तथा ग्यास आपूर्तिमा अवरोध हुँदा अमेरिकामा इन्धन र अन्य उपभोग्य वस्तुको मूल्य बढेको छ।