जनअपेक्षाअनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउँछौँः सभापति लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिानेले अध्यादेशको बचाउ गरेका छन् । बुधबार पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई सच्याउन अध्यादेश ल्याउन लागेको बताएका हुन् ।

उनले भनेका छन्, ‘विगतमा भएको अनावश्यक दलीयकरण र गलत नियुक्तिलाई नसच्याएसम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पूरा गर्न सकिँदैन । पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याउने अभ्यास थियो । अहिलेको अभ्यास कसैलाई दुःख दिन वा कसैलाई सुविधा दिन हैन, यो आवश्यक सुधारको लागि हो। यो कदम, कानूनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो । कानून, राजनीतिक व्यबहार र लोकतान्त्रिक पद्धतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुराको सूचक संसदीय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले देखाउँछ। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौँ, ईमानदार भएर बढ्यौँ ।’

उनले जनअपेक्षाअनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक रहेको बताए । उनले भने, ‘कैयौँ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन् । महत्त्वपूर्ण निर्णयहरू लिन व्यवहारिक कठिनाइ हुँदैछ वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन् । धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षाअनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।’

सभापति लामिछानेले जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असहज वा कठिनाइ भए आवश्यक सहजीकरण गर्ने बताए ।

उनले भने, ‘नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असहज वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधै उपलब्ध छु। बैठक कुरेर मात्र नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ। तर, संगठनमा आएर–खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।’