काठमाडौँ । सरकारले संसद छलेर अध्यादेश ल्याउन लागेकोप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि देखिएको छ । रास्वपाका सांसद गणेश कार्कीले बहुमतको सरकारले अध्यादेश ल्याउन लागेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
अध्यादेशका विषयमा आफूलाई म्यासेज आएको भन्दै उनले आफू विगतमा जस्तै यस विषयमा स्पष्ट रहेको बताएका छन् । उनले अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने गरेको र यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘सरकारले ल्याएको अध्यादेशको बारेमा मेरो धारणा माग्दै र मौनतामा मलाई नै प्रश्न गर्दै मेन्सन, म्यासेज गर्ने सबै साथीहरूप्रति मलाई गौरव छ । विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ । रह्यो अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन । अध्यादेश सधैं संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन । संविधान अक्षरले बाँच्ने दस्तावेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् । र, विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदाखेरिका मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित छन् ।’
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो । बहुमतको सरकारले अध्यादेश ल्याउन लागेको भन्दै सरकारको व्यापक आलोचना भइरहेको छ ।

प्रतिक्रिया