सेनाले संकलन गर्दै सुकुम्बासी बस्तीको विवरण


काठमाडौँ । नेपाली सेनाले प्रधानमन्त्रीको निर्देशनमा सुकुम्बासी बस्तीको विवरण संकलन गरिरहेको खुलेको छ । वज्रदल गण बाँकेले बर्दियाका स्थानीय तहलाई पत्र लेख्दै सुकुम्बासी बस्तीको विवरण उपलब्ध गरादिन पत्र लेखेको पाइएको हो ।

सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीमा देशभरका सुकुम्वासी तथा अव्यवस्थित वसोबासीको लगत तयार गर्ने, वास्तविक सुकुम्बासीहरुलाई चरणबद्ध स्थान उपलब्ध गराउने जस्ता विषयहरु समावेश भएअनुसार कार्यान्वयनको क्रममा रहेकोले विवरण उपलब्ध गराइदिन सेनाले आग्रह गरेको छ ।

सेनाको पत्रमा भनिएको छ, ‘वैशाख १२ र १३ गते काठमाडौं उपत्यका भित्रका नदी किनार तथा सार्वजनिक जग्गाहरु अतिक्रमण गरी बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरु हटाउने कार्यमा सुरक्षाकर्मीहरु परिचालन भएको व्यहोरा विदितै छ । तसर्थ, बर्दिया जिल्लामा रहेका अव्यवस्थित सुकुम्वासी वस्तीहरू सम्बन्धमा अद्यावधिक विवरण आवश्यक परेको हुँदा देहाय अनुसारको विवरण मिति २०८३ वैशाख १४ गतेभित्र गणलाई उपलब्ध गराई दिनु हुन अनुरोध गरिन्छ ।’

उपत्यकाका सुकुम्बासी हटाउने क्रममा केही स्थानमा नेपाली सेना पुगेको थियो । सेना सुकुम्बासी बस्ती हटाउन परिचालन गरिएको भन्दै आलोचना भइरहेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षामा पठाउने सेना सुकुम्बासी बस्तीमा खटाइएको भन्दै आपत्ति जनाएका थिए ।