-शैलेन्द्रकुमार श्रेष्ठ
।। श्रीराम जय राम जय जय राम ।।
।। सीताराम सीताराम जय जय सीताराम ।।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूलाई शुभ जन्मोत्सवको हार्दिक मंगलमय शुभकामना !
कहिलेकाहीँ इतिहासमा केही संयोगहरू यस्ता हुन्छन्, जसले समयलाई केवल पात्रोको घटना मात्र नभई ईश्वरीय संकेत, दिव्य संयोग र राष्ट्र निर्माणको शुभ आह्वानजस्तो अनुभूति गराउँछन् । सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूको शपथ ग्रहण मर्यादा, सत्य, धर्म र आदर्श शासनका प्रतीक भगवान श्रीरामको पावन जन्मोत्सव रामनवमीमा पर्नु, केही दिनअघि वैशाख १२ गते जगतजननी माता जानकीको शुभ प्राकट्य दिवस सम्पन्न हुनु, अनि उहाँको जन्मोत्सव पनि सामान्यतया प्रत्येक तीन वर्षको अन्तरालमा आउने, जुन आउँदो जेठ ३ गतेदेखि सुरु हुँदैछ, उक्त पुरुषोत्तममासजस्तो सनातन परम्परामा अत्यन्त पवित्र मानिने समयकालको समीपमा पर्नुजस्ता घटनाहरू संयोग मात्र नभई राष्ट्रसेवा, धर्मनिष्ठ नेतृत्व र जनकल्याणका लागि शुभ संकेतका रूपमा लिन सकिन्छ ।
रामनवमीको दिन लिइएको शपथ केवल सत्ता हस्तान्तरण थिएन, त्यो राजधर्म पालनाको संकल्प थियो । भगवान श्रीरामले संसारलाई सिकाउनुभएको आदर्श आज पनि हरेक नेतृत्वका लागि अमर मार्गदर्शन हो- शासन शक्ति होइन, सेवा हो ।
नेता शासक होइन, सेवक हो ।
माता जानकीको जीवनले धैर्य, शुचिता, करुणा, संयम र त्याग नै साँचो शक्ति हो भन्ने संसारलाई सिकाउँछ । राष्ट्र निर्माणमा शक्तिका साथै धैर्य, मातृभाव, करुणा र सहनशीलता पनि उत्तिकै आवश्यक हुन्छ । जानकी माताको कृपा जहाँ रहन्छ, त्यहाँ शान्ति, समृद्धि र सद्भाव स्वतः प्रस्फुटित हुन्छ ।
त्यसैगरी पुरुषोत्तममास आत्मशुद्धि, संयम, साधना, सेवा, दान र लोककल्याणको दिव्य समय हो । यो मन, वचन र कर्मलाई पवित्र बनाउने साधनाकाल हो । प्रधानमन्त्रीज्यूको जन्मोत्सव यस्तै पवित्र समयको आसपासमा पर्नु राष्ट्रसेवामा समर्पण, त्याग, अनुशासन र परिणाममुखी नेतृत्वको शुभसूचक मान्न सकिन्छ ।
प्रधानमन्त्रीज्यूले सत्ता सम्हालेको एक महिनामै देखिएका प्रारम्भिक कदमहरूले जनतामा नयाँ आशा जगाएको छ । सुशासनको प्रारम्भ, भ्रष्टाचारविरुद्ध कठोर संकेत, सम्पत्ति छानबिन, प्रशासनिक सुधारको प्रयास, सार्वजनिक सेवा छिटो बनाउने सोच, सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण तथा नदीकिनार व्यवस्थापन योजना, कूटनीतिक सक्रियता आदि । यी संकेतहरूले जनताको मनमा नयाँ विश्वास पलाउन थालेको अनुभूति भइरहेको छ ।
आज देशले
भाषण होइन,
परिणाम खोजिरहेको छ ।
वाचा होइन,
विश्वसनीयता खोजिरहेको छ ।
पद होइन,
इमानदार सेवक नेतृत्व खोजिरहेको छ ।
पुराना राजनीतिक शैलीप्रति जनताको असन्तोष स्पष्ट भइसकेको छ । अब जनताको अपेक्षा छ—काम, अनुशासन, पारदर्शिता र समृद्धि । यद्यपि चुनौतीहरू पनि कम छैनन् । पुरानो प्रशासनिक संरचनासँग संघर्ष, थोरै अनुभव बोकेका टिममाथि पर्न सक्ने दबाब, आन्तरिक विवाद, अपेक्षाको भारी बोझ । तर हरेक महान यात्रामा चुनौती अनिवार्य हुन्छ । संघर्ष बिना शिखर प्राप्त हुँदैन । तपस्या बिना सिद्धि प्राप्त हुँदैन । धैर्य बिना विजय प्राप्त हुँदैन ।
नेपाल सम्भावनाले भरिएको राष्ट्र हो । जलस्रोत, कृषि, संस्कृति, हस्तकला, सूचना प्रविधि, पर्यटन, धार्मिक तीर्थस्थलभित्र लुकेका अपार सम्भावना, सांस्कृतिक उद्योग अर्थव्यवस्थाको विशाल सम्भावना, साहसिक गन्तव्य र विश्वप्रसिद्ध वीर गोर्खाली साहस हाम्रो अमूल्य पूँजी हुन् । यदि स्पष्ट दृष्टिकोण, सक्षम टिम, समयसीमायुक्त योजना, निरन्तर अनुगमन र सत्यनिष्ठ नेतृत्व भयो भने नेपाललाई समृद्धिको नयाँ युगमा प्रवेश गराउन सकिन्छ ।
प्रधानमन्त्रीज्यूको शुभ जन्मोत्सवमा हाम्रो हार्दिक कामना छ । भगवान श्री पुरुषोत्तमको कृपा, भगवान श्रीरामको मर्यादा, माता जानकीको धैर्य, हनुमानजीको शक्ति र जनताको विश्वास प्रधानमन्त्रीज्यूमाथि सधैं रहिरहोस् । उहाँको नेतृत्वमा वीर गोर्खालीको शिर फेरि सगरमाथाको उचाइझैँ उचालियोस् । नेपाल विश्वसामु इमानदारिता, सुशासन, आध्यात्मिक चेतना र समृद्धिको उदाहरण बनोस् । देश हाक्ने साँचो नेता कुर्सी बचाउँदैन, भविष्य बनाउँछ । जनताको आँसु पुछ्ने नेतृत्व नै इतिहासमा अमर हुन्छ । राष्ट्रका लागि जिउने नेता नै साँचो राजऋषि हुन्छ ।
यही मंगलभावसहित सम्माननीय प्रधानमन्त्री बालेन्द्र साहज्यूलाई शुभ जन्मोत्सवको हार्दिक बधाई तथा उज्ज्वल, सफल र यशस्वी कार्यकालको शुभकामना ।
जय नेपाल !
समृद्ध नेपाल, सक्षम नेतृत्व !
(श्रेष्ठ सशस्त्र प्रहरी बलका पूर्व प्रमुख हुन् भने करिब डेढ दशकदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन् )

प्रतिक्रिया