पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजाने बताएका छन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा सभापति थापाले पार्टी केन्द्रीय समितिमा रहेका र नरहेकाको पनि सहमतिमा भीष्मराज आङ्देम्बे पार्टी संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएको बताए ।

संसदीय दलको नेताका लागि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचनमै जान सकिने भएपनि केन्द्रीय समितिमा रहेका र नरहेका सबैको सहमतिमा धेरैको चाहनाअनुसार सहमतिबाट नेतृत्व छनोट गरिएको सभापति थापाको भनाई थियो ।
‘संसदीय दलको नेता चयनमा समय लागे पनि अन्तिममा सहजतापूर्वक सहमतिबाट नेतृत्व निर्विरोध निर्वाचित भएको छ, यसमा आदरणीय नेता अर्जुननरसिंह केसी र मोहन आचार्यको सहमति छ’ उनले भने ।

उनले कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गाह्रो रहेको बताउँदै सभापति थापाले ढिलो भएपनि भित्रभित्रै परिपक्क बनाएको धारणा राखे ।

उनले भने,‘चयनको प्रक्रियामा समय अलि बढी लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो । तर यो पटक बहुसंख्यक सांसदहरुको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो । कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गाह्रो छ । ढिला भएपनि परिपक्क बनाइरहेका थियौं ।’